प्रदेश १ मा आज सभामुख चुनिँदै, मन्त्रीमण्डल विस्तारको तयारी

लोकपथ
78
Shares

विराटनगर । प्रदेश १ को सभामुखको निर्वाचन बुधबार हुँदैछ ।

सभामुखमा माओवादी केन्द्रका सांसद बाबुराम गौतमको मात्रै उम्मेदवारी परेको छ ।

प्रदेश सभा सचिवालयका अनुसार सभामुखको निर्वाचनका लागि आज बिहान ११ बजे प्रदेश सभा बैठक बस्दै छ । त्यही बैठकले गौतमलाई निर्वाचित भएको घोषणा गर्ने छ । प्रस्तावक र समर्थकले समर्थन रहेको जनाएपछि ज्येष्ठ सदस्य गयानन्द मण्डलले एकल उम्मेदवार परेकाले निर्विरोध निर्वाचित भएको घोषणा गर्ने छन् ।

माओवादी उम्मेदवार गौतमलाई सत्ता पक्ष र प्रतिपक्षी दलको पनि समर्थन छ ।माओवादी केन्द्रका केन्द्रीय सदस्य गौतम ओखलढुङ्गाको प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर २ बाट प्रत्यक्ष निर्वाचित भएका थिए ।

प्रदेश १ को पहिलो कार्यकालमा एमाले सांसद प्रदीपकुमार भण्डारी सभामुख बनेका थिए । दोस्रो कार्यकालमा गौतम बन्नेछन् ।

सभामुख गौतमले आजै शपथ लिनेछन् । संसद् सचिवालयका प्रमुख गोपाल पराजुलिका अनुसार १ बजे शपथ ग्रहण गर्ने छन् । उनलाई प्रदेश प्रमुख परशुराम खापुङले शपथ गराउने छन् ।

प्रदेश १ को उपसभामुखको निर्वाचन भने पुस ३० गतेका लागि तोकिएको छ ।

यता, प्रदेश १ सरकारमा सहभागी हुने मन्त्रीहरु छान्न नेकपा माओवादी केन्द्र प्रदेश १ समितिको पदाधिकारी बैठक बसिरहेको छ ।

नेकपा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीलाई मुख्यमन्त्रीमा समर्थन गरेको माओवादी केन्द्रले आलोपालोको सहमति नभएको भएको भन्दै यसअघि सरकारमा सहभागिता जनाएको थिएन ।

केन्द्रीय नेतृत्वले संघीय सरकारसहित सबै प्रदेशमा आलोपालो हुने भन्दै सरकारका सहभागी हुन निर्देशन दिएपछि माओवादी केन्द्र आज सरकारमा सहभागी हुने तयारीमा छ ।
माओवादीभित्र को मन्त्री बन्ने भन्नेमा रस्साकस्सी चलिरहेको बेला पदाधिकारी बैठक सुरु भएको हो ।

स्रोतले दिएको जानकारी अनुसार प्रदेश १ को पूर्वाधार तथा भौतिक योजना मन्त्रालय र पर्यटन, वन तथा वातावरण मन्त्रालय माओवादीको भागमा गरेको छ । भौतिक मन्त्रालयमा माओवादी सांसद जीवन आचार्य र पर्यटन, वन तथा वातावरण मन्त्रालयमा दुर्गाप्रसाद चापागाईंलाई मन्त्रीको रुपमा पठाउने माओवादीको तयारी छ ।

माओवादीमा मन्त्रीको आकांक्षा राख्नेमा केन्द्रीय सदस्यहरु दुर्गा चापागाईं, राजेन्द्रकुमार कार्की, गीता तिम्सिना, जीवन आचार्य, गोम्बु शेर्पा, पार्टीको प्रदेश कमिटी सदस्य गणेश उप्रेती, सांसद नारायण बुर्जालगायत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?