म्याग्दी । कालीगण्डकी नदीको शिला हिन्दूहरुको धार्मिकस्थल भारतको अयोध्या लगिने भएको छ । मुस्ताङको दामोदरकुण्डबाट बगेर आउने कालीगण्डकी हिन्दू धर्मावलम्बीले भगवान् विष्णुको रुपमा पुज्ने शालिग्राम शिला पाइने नदी हो । कालीगण्डकीलाई हिन्दू धर्मावलम्बीले कृष्णागण्डकीको रुपमा पनि चिन्ने गर्दछन् ।
भारतको अयोध्यामा निर्माण हुन लागेको राम मन्दिरमा मुर्ति बनाएर राख्नका लागि पहिचान भएको दुई थान शिलाको बुधबार नापजाँच गरिएको छ । भारत सरकारको प्रस्ताव र नेपाल सरकारको मन्त्रिपरिषद्को बैठकको निर्णयअनुसार अयोध्यामा कालीगण्डकीको शिला पठाउने प्रक्रिया अन्तिम चरणमा पुगेको बेनी नगरपालिकाका प्रमुख सुरत केसीले जानकारी दिए ।
‘सङ्घीय सरकारले गण्डकी प्रदेश सरकारमार्फत बेनी नगरपालिकालाई शिला उपलब्ध गराउन पत्राचार गरेको थियो’, उउनले भने, ‘बेनीस्थित म्याग्दी र कालीगण्डकी नदीको दोभानदेखि तीन किलोमिटर उत्तर गलेश्वरसम्म करिब दश दिन लगाएर शिलाको अध्ययन र पहिचान भएको थियो ।’
प्रदेश सरकारको शिक्षा, विज्ञान तथा संस्कृति मन्त्रालयका उपसचिव भोजराज न्यौपानेको नेतृत्वमा राम मन्दिर निर्माण समितिका सचिव राजेन्द्रसिंह पङ्कज, पश्चिमाञ्चल इञ्जिनियरिङ क्याम्पस पोखराका उपप्राध्यापक नवराज न्यौपानेसहितको टोलीले बेनी नगरपालिका–६ र ८ वडाको सिमानामा पर्ने रातो पहिरोमा पहिचान भएको दुई शिलाको नापचाँच गरेको हो ।
‘एउटा १५–१६ मेट्रिक टन र अर्को ११–१२ मेट्रिक टन अनुमानित तौल भएको शिलाको नापजाँच भएको छ’, उपप्राध्यापक न्यौपानेले भने, ‘जैविक र वातावरणीय असर नपुग्ने गरी शिला उठाएर ट्रकमा राख्ने क्रेन मगाएका छौँ ।’ कालीगण्डकी नदीबाट पवित्र बनेका सात फिट लम्बाइ र पाँच फिट चौडाइका दुई थान शिलाको पहिचान गरिएको थियो ।
उपसचिव न्यौपानेले उक्त शालिग्राम बेनी नगरपालिका र गण्डकी प्रदेश सरकारले जनकपुरमा लगेर मधेस प्रदेश सरकारलाई हस्तान्तरण गर्ने र त्यहाँबाट अयोध्या लगिने बताए । साइत जुराएर धार्मिक विधिअनुसार पूजाआजा र बाजा बजाएर बेनीबाट शिलाको बिदाइ गरिने नगरपालिकाले जनाएको छ ।
धार्मिक हिसाबले महत्वपूर्ण भएकाले कालीगण्डकीको शिला अयोध्या लैजान लागिएको हो । शालिग्राम पाइने कृष्णागण्डकीको किनारमा रहेकाले देवशिला भनिएको हो । कालीगण्डकीको शिला अयोध्यामा पु¥याउँदा यहाँको धार्मिक र सांस्कृतिक पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने कृष्णागण्डकी नदीका अध्येता कुलराज चालिसेले बताए ।
संस्कृति तथा पर्यटन मन्त्रालयले जनकपुरधाम र अयोध्याधामबीच सांस्कृतिक सम्बन्धलाई प्रगाढ बनाउन तथा नेपालको सांस्कृतिक पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने भन्दै दुई थान शिला उपलब्ध गराउन मन्त्रिपरिषद्मा प्रस्ताव लगेको थियो । मन्त्रिपरिषद् र गण्डकी प्रदेश सरकारको सहमतिपछि कालीगण्डकीमा शिला खोज, अध्ययन र नापजाँचको प्रक्रिया पूरा भएको हो ।
शालिग्राम पाइने भएकाले कालीगण्डकीलाई पवित्र नदी मानिन्छ । कालीगण्डकी किनारको बेनी–गलेश्वर क्षेत्रमा ऋषिहरू पुलह, कपिल र जडभरतले तपस्या गरी सिद्धी प्राप्त गरेको पौराणिक मान्यता भएकाले यस क्षेत्रको शिला धार्मिक हिसाबले महत्वपूर्ण हुने अध्येता चालिसेले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया