सुदूरपश्चिम प्रदेश सरकार गठनमा नागरिक उन्मुक्ति अझै अनिर्णित

काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकार गठनमा निर्णायक शक्तिका रुपमा देखिएको नागरिक उन्मुक्ति पार्टी अझै अनिर्णित बनेको छ । मुख्यमन्त्री नियुक्तिका लागि प्रदेश प्रमुखबाट दिइएको समयसीमा घर्किदै जाँदा अहिलेसम्म औपचारिक निर्णय हुन नसकेको हो ।
प्रदेश प्रमुख देवराज जोशीले बुधबार साँझ ५ बजेभित्र मुख्यमन्त्रीका लागि दाबी पेस गर्न आग्रह गरेका थिए ।

यसबारे निर्णय गर्न पार्टीको केन्द्र र प्रदेश संसदीय दलको संयुक्त बैठक संसदीय दलको कार्यालय सिंहदरबारमा बसिरहेको सांसद गंगा चौधरीले जानकारी दिए । ‘केहीबेरमा हामी निर्णय सार्वजनिक गर्दैछौँ । सांसद चौधरीले भने त्यसअनुसारमा सरकार गठनमा हाम्रो समर्थन रहने, नरहने कुरा हुन्छ ।’ नागरिक उन्मुक्तिले पार्टीका संरक्षक रहेका रेशम चौधरीको रिहाइको लिखित प्रतिबद्धता भएमात्रै सरकार गठनमा सहयोग गर्ने अडान लिएको छ ।

यसअघि केन्द्रीय तहका सत्ता साझेदार दलबीच सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व आलोपालो गर्ने सहमति भएको थियो । सोही अनुसार नागरिक उन्मुक्ति पार्टीले समर्थन जनाए प्रदेश सरकारको नेतृत्वको दौडमा रहेका एमाले संसदीय दलका नेता राजेन्द्र रावल मुख्यमन्त्री बन्ने करीब पक्का जस्तै छ । तर, नागरिक उन्मुक्तिको आधिकारिक निर्णय नआउँदा अझै अलमल भएको हो । सुदूरपश्चिममा नागरिक उन्मुक्ति पार्टी तानातानको अवस्थामा छ ।

नागरिक उन्मुक्ति पार्टीले निर्णय नलिँदा सत्ता गठबन्धनलाई सरकार गठन गर्न कठिन भइरहेको छ । सुदूरपश्चिममा नागरिक उन्मुक्तिले जसलाई समर्थन गर्छ उसैको सरकार बन्ने देखिन्छ ।

५३ सदस्यीय प्रदेश सभामा सरकार गठन गर्न २७ सांसदको समर्थन चाहिन्छ । यहाँ सबैभन्दा ठूलो नेपाली कांग्रेससँग १९ सिट, माओवादी केन्द्रसँग ११, एमालेसँग १०, नागरिक उन्मुक्तिसँग ७, नेकपा (एकीकृत समाजवादी) का चार, राप्रपाका एक र एकजना स्वतन्त्र सांसद छन् । प्रदेशसभामा सरकारमा दाबी पेस गर्ने समय सीमा आज सकिँदै छ । प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभाको सदस्यले मुख्यमन्त्रीका लागि दाबी पेस गर्नु पर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?