जसपाका यादवद्वारा ७१ सांसदको समर्थनसहित मुख्यमन्त्रीमा दाबी पेश

लोकपथ
0
Shares

काठमाडौं । मधेस प्रदेशको मुख्यमन्त्रीमा जनता समाजवादी पार्टी नेपाल (जसपा) का संसदीय दलका नेता सरोजकुमार यादवले दाबी पेश गरेका छन् ।

बुधबार प्रदेश प्रमुख हरिशंकर मिश्रसमक्ष यादवले ७१ सांसदको समर्थनसहित दाबी पेश गरेका हुन् । उनलाई कांग्रेस र लोसपाबाहेकका दलको समर्थन रहेको छ । प्रदेश प्रमुख हरिशंकर मिश्रले पुस २८ गते अपराह्न ४ बजेभित्र सरकारको नेतृत्वमा दाबी पेस गर्न आह्वान गरेका थिए ।

यादवलाई नेकपा एमाले, माओवादी केन्द्र, जनमत, राप्रपा, नेपाल संघीय समाजवादी पार्टीका प्रदेशसभा सदस्यले समर्थन गरेका छन् । साथै स्वतन्त्र प्रदेशसभा सदस्यहरु सुरिता साह र अनिरुद्द सिंहकोसमेत यादवलाइ समर्थन छ ।

सरकार गठनका लागि मधेश प्रदेशमा १६ जना प्रदेशसभा सदस्यसहित तेस्रो वरीयतामा रहेको जसपालाई नेकपा एमालेका २३, जनमत पार्टीका १३, नेकपा माओवादी केन्द्रका ७, राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाल संघीय समाजवादी पार्टीका १/१ तथा स्वतन्त्र प्रदेशसभा सदस्यहरुसहित कूल ६३ जना प्रदेशसभा सदस्यको समर्थन छ ।

१०७ सदस्यीय मधेश प्रदेशसभामा बहुमतका लागि कम्तीमा ५४ सांसदको समर्थन चाहिन्छ । यता मुख्यमन्त्रीको शपथग्रहण पुस २९ गते हुनेछ । नियुक्त हुने नयाँ मुख्यमन्त्रीको शपथ ग्रहणका लागि तयारीसमेत गरिँदै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?