बागमतीका मुख्यमन्त्री जम्कट्टेलले माघ ३ गते विश्वासको मत लिने

लोकपथ
26
Shares

मकवानपुर । बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आगामी माघ ३ गते संसदबाट विश्वासको मत लिने भएका छन् । जम्कट्टेल यही पुस २५ गते ५ दलको समर्थनमा प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका थिए । नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेश प्रमुख यादवचन्द्र शर्माले उनलाई नियुक्ति गरेका थिए ।

मुख्यमन्त्री जम्कट्टेलले २६ गते प्रदेश प्रमुख पद तथा गोपनीयताको शपथ ग्रहण गरी कार्यभार सम्हालेका थिए । उनले मुख्यमन्त्री नियुक्त भएको एक साता भित्रै संसदबाट विश्वासको मत लिने तयारी गरेका हुन् ।

११० सदस्यीय बागमती प्रदेशसभामा मुख्यमन्त्री जम्मकट्टेल ५ दलका ७० सांसदको समर्थनमा मुख्यमन्त्री बनेका थिए । उनलाई नेकपा एमालेको २७, नेकपा माओवादी केन्द्र केन्द्रको २१, राप्रपाको १३, नेकपा एकीकृत समाजवादीको ७ र हाम्रो नेपाली पार्टीको २ सांसदको समर्थन गरेका छन् । ३७ सिट रहेको कांग्रेस र ३ सिट रहेको नेमकिपाले भने जम्मकट्टेललाई समर्थन दिएको छैन ।

यस अवस्थामा मुख्यमन्त्री जम्कट्टेलले सहजै विश्वासको मत पाउने देखिन्छ । प्रदेशसभामा मुख्यमन्त्री जम्मकट्टेलले ५६ मत मात्र पाएको खण्डमा उनको नेतृत्वको सरकार कायम रहन्छ । मुख्यमन्त्री जम्कट्टेले विश्वासको मत लिएपछि मात्र मन्त्रिपरिषद् विस्तार गर्ने योजना बनाएका छन् ।

सरकारलाई छिट्टै पूर्णता दिन पनि मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत लिने तयारी गरेको प्रदेश सरकारका प्रवक्ता एवं आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलिया थपलियाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?