विश्वासको मत दिने सांसदप्रति प्रधानमन्त्रीद्वारा आभार व्यक्त

लोकपथ
26
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधिसभा सदस्यलाई विशेष आभार प्रकट गरेका छन् । उनले भने, ‘प्रतिनिधिसभाबाट करिब सर्वसम्मतिले विश्वासको मत प्रदान गर्नुभएकोमा माननीय सदस्यहरू र सिङ्गो संसद्प्रति विशेष आभार व्यक्त गर्दछु ।’

प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गरेपछि सामाजिक सञ्जालमार्फत प्रधानमन्त्रीले भनेका छन्, ‘तपाईहरूको यो विश्वासप्रति इमान्दार रहँदै सहमतिका साथ सामाजिक न्याय, सुशासन र समृद्धिको यात्रामा दृढतापूर्वक अघि बढ्ने सङ्कल्प गर्दछु ।’

प्रधानमन्त्री दाहालले प्रतिनिधिसभाबाट दुई तिहाइ बढी विश्वासको मत प्राप्त गरेका छन् । प्रतिनिधिसभामा आज भएको विश्वासको प्रस्तावको मतदानमा उनको पक्षमा २ सय ६८ र विपक्षमा दुई मत परेको थियो । बैठकमा पाँच जना सांसद अनुपस्थित थिए भने बैठकमा कुल दुई सय ७० सांसद उपस्थित थिए ।

राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष दाहाललाई यही पुस १० गते प्रधानमन्त्रीमा नियुक्त गरेकी थिइन् । उनले यही पुस ११ गते पद तथा गोपनियताको शपथ लिँदै पदभार ग्रहण गरेका थिए । प्रतिनिधिसभा सदस्यको गत मंसिर ४ गते भएको निर्वाचनमा ३२ सिटसहित माओवादी केन्द्र तेस्रो ठूलो दलका रुपमा सदनमा छ ।

प्रचण्डले नेपालको संविधानको धारा ७६ को उपधारा (४) बमोजिम प्रतिनिधिसभाबाट विश्वासको मत लिएका हुन् । धारा ७६ उपधारा (२) अनुसार नियुक्त प्रधानमन्त्रीले उपधारा (४) बमोजिम त्यसरी नियुक्त भएको एक महिनाभित्र प्रतिनिधिसभाबाट विश्वासको मत लिनुपर्नेछ ।

प्रधानमन्त्री दाहाललाई नेपाली कांगेस, नेकपा (एमाले), माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी, नेकपा (एकीकृत समाजवादी), नागरिक उन्मुक्ति पार्टी , जनमत पार्टी र केही स्वतन्त्र सांसदले विश्वासको मत दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?