बर्दगोरियाका नागरिकलाई गाउँमै सेवा

लोकपथ
91
Shares

काठमाडौं । कैलालीको बर्दगोरिया गाउँपालिकाले ज्येष्ठ नागरिकलाई गाउँमै सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउन थालेको छ । गाउँपालिकाका जनप्रतिनिधि र बैंक कर्मचारीको उपस्थितिमा वडामा रहेका ज्येष्ठ नागरिकको सामाजिक सुरक्षा भत्ता वितरण शुरु गरिएको हो ।

नागरिकको सहजताका लागि गाउँपालिकाले सुरु गरेको अभियानको पहिलो दिन सोमबार वडा नं ३ को खैरेनीस्थित वडा कार्यालयमा पुगेर सेवा प्रदान गरिएको छ । सामाजिक सुरक्षा भत्ता बुझ्न वृद्धवृद्धा लठ्ठीको सहारामा वडा कार्यालयमा आएका थिए ।

शारीरिक रुपले अशक्त ज्येष्ठ नागरिकलाई सेवासुविधाको पहुँचमा ध्यान दिँदै त्रैमासिक रुपमा दिइँदै आएको सामाजिक सुरक्षा भत्ता गाउँमै वितरण गर्न थालिएको गाउँपालिका अध्यक्ष कर्णबहादुर कुँवरले बताए । बैंकसम्म पुग्न अप्ठ्यारो हुने महसुस गरी नागरिकलाई सेवा सुविधामा सहज पहुँच पुर्याउन वडा वडास्तरमै पुगेर सेवा दिने योजना रहेको उनको भनाइ छ ।

‘यसअघि बैंकिङ भुक्तानी प्रणाली अनुसार बैंकबाट नै भुक्तानी दिने गरिएको थियो ।’ अध्यक्ष कुँवरले भने, वृद्धवृद्धाहरुको असुविधालाई मध्यनजर गर्दै गाउँ–टोलमै पुगेर सेवा दिने योजना छ ।’ ज्येष्ठ नागरिक तथा अपांगता भएका व्यक्तिलाई परिचयपत्र समेत पालिकाले वडाबाटै उपलब्ध गराउँदै आएको छ ।

आगामी दिनमा वडास्तरमै स्वास्थ्य शिविर सञ्चालन गरी स्वास्थ्य सेवा दिइने पालिकाको तयारी छ । जसका लागि एमबीबीएस डाक्टर नियुक्त गरी सेवा दिइन लागिएको अध्यक्ष कुँवरले बताए । यसअघि बर्दगोरियामा सामाजिक सुरक्षा भत्ता बैंकिङ प्रणालीबाट वितरण हुँदै आएपछि भत्ता बुझ्न बैंकसम्म पुग्नुपर्ने ज्येष्ठ नागरिकलाई बाध्यता थियो ।

वडामै वितरण हुन थालेपछि यो बाध्यता हटेको हो । वडामै भत्ता पाउँदा आफूहरुलाई धेरै खुसी लागेको वृद्धवृद्धाले प्रतिक्रिया दिएका छन् । ज्येष्ठ नागरिक तथा अपांगता भएका व्यक्तिलाई वडामै पुगेर सामाजिक सुरक्षा भत्तालगायतका सेवा दिन पाउँदा आफूहरूसमेत सन्तुष्ट भएको जनप्रतिनिधिले बताएका छन् ।

नागरिकलाई स्थानीय सरकारको अनुभूति दिलाउन वडामै पुगेर सेवा प्रदान गर्ने योजना रहेको वडा नं. ३ का वडाअध्यक्ष मनऋषि आचार्यले बताए । ‘विशेषगरी सामाजिक सुरक्षा भत्ता लिने नागरिकलाई समस्या थियो । बैंकसम्म धाउनुपर्ने, घण्टौँसम्म लाईन लाग्नुपर्ने र सवारीसाधन प्रयोग गरेर जाँदा उत्तिकै अप्ठ्यारो थियो ।’

वडाध्यक्ष आचार्यले भने, ‘त्यसैले वडा तहमै भत्ता वितरण गर्न थालेका छौँ । उहाँहरूको समय र स्रोतको बचत गर्न सेवा दिन थालेका हौँ ।’ सो वडामा ५९५ जना एकल महिला तथा ज्येष्ठ नागरिक छन् । आर्थिक वर्षको दोस्रो त्रैमासिक भत्ता वितरण गरिएको वडाध्यक्ष आचार्यले बताए ।

उनीहरुले राज्यले प्रदान गर्दै आएको चालू आर्थिक वर्षको मासिक ४ हजारका दरले त्रैमासिक १२ हजार रुपैयाँ बुझेका हुन् । बैंकमा जाँदा कतिपय सेवाग्राहीको कागजपत्र नमिलेका कारण रित्तो हातसमेत फर्किने गरेका थिए । विशेषगरी सामाजिक सुरक्षा भत्ता लिने सेवाग्राहीमा समस्या देखिएकाले त्यस्ता व्यक्तिको कागजपत्र मिलाएर पुनः उहाँहरूलाई सहज वातावरणमा सेवा प्रदान गरिने वडाध्यक्ष आचार्यले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?