संविधानतः कांग्रेसलाई प्रमुख प्रतिपक्षी दाबी गर्ने छैन अधिकार

लोकपथ
442
Shares

काठमाडौं । प्रतिनिधि सभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दियो ।

मंगलबार संसद भवन बानेश्वरमा भएको प्रतिनिधि सभाको बैठकमा गरिएको मतदानमा कांग्रेसका सांसदहरुले प्रधानमन्त्री प्रचण्डलाई मतदान गरेका हुन् । यो निर्णयसँगै संविधानतः कांग्रेसलाई प्रमुख प्रतिपक्षीको हैसियत दाबी गर्ने अधिकार गुमेको छ ।

संघीय संसदका पदाधिकारी तथा सदस्यहरुको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन, २०७३ को दफा २ (ङ) ले प्रमुख प्रतिपक्षी दलको दाबी गर्न हुनुपर्ने शर्तको व्यवस्था गरेको छ । ‘विपक्षी दलको नेता भन्नाले देहाय बमोजिमका दलले संसदीय दलको नेताका रुपमा छानेको व्यक्ति सम्झनु पर्छ ।’

दफा २ (ङ) को १ मा भनिएको छ, ‘मन्त्रिपरिषद गठन गर्ने दल वा मन्त्रिपरिषद गठन गर्न समर्थन गर्ने दल बाहेक प्रतिनिधि सभामा दश प्रतिशत वा सोभन्दा बढी सदस्यहरु भएको दलहरु मध्ये सबैभन्दा बढी सदस्य भएको दल……..’

कानूनको यो व्यवस्थाले सरकारलाई समर्थन गर्ने कांग्रेस मात्र होइन अरु दलले पनि विपक्षी दलको नेताको हैसियत पाउने छैनन् ।

चुनावपछि पहिले को प्रधानमन्त्री बन्ने भन्ने हठमा मुखमा आएको राजकीय पदहरु गुमाएर पार्टीभित्रै रक्षात्मक अवस्थामा पुगेका कांग्रेस सभापति शेरबहादुर देउवाले अन्तिम घडीमा प्रचण्डलाई समर्थन गर्ने पार्टी निर्णय गराए ।

तर उनको उक्त निर्णय सर्वसम्मत हुन सकेन । पार्टी महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा तथा नेताहरु अर्जुननरसिंह केसी, प्रकाशमान सिंह र प्रदीप पौडेलले लिखित असहमति नै जनाए ।

प्रचण्डलाई समर्थन गरेर आउने दिनमा सत्ता यात्राका लागि बाटो सहज बनाउने देउवाको चाल भए पनि यसले कांग्रेसको अराजनीतिक चरित्रको पनि पटाक्षेप गरिदिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?