प्रदेश बलियो बनाउन सबै एकजुट हौँ : मुख्यमन्त्री कार्की

लोकपथ
28
Shares
फाइल तस्बिर

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रादेशिक संरचनाको औचित्य पुष्टि गर्न सबै सांसदहरु एकजुट हुनुपर्ने बताएका छन् । उनले प्रादेशिक संरचना सेवा प्रवाह र देश विकासका लागि महत्वपूर्ण भएको बताउँदै स्थापित गर्नु सबै संसदहरूको दायित्व भएको बताएका छन् ।

प्रदेश सभाको पहिलो सदनमा सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले फजुल खर्च र बेरुजुका आधारमा संघ र स्थानीय सरकारभन्दा प्रदेश सरकार अब्बल संरचना भएको बताए । ‘प्रदेशको अधिकार प्राप्तिका लागि प्रदेशसभाका सबै दल एकमतका साथ उभिनु पर्छ’, उनले भने, ‘कतिपय कुराहरूमा हामीले अधिकार नपाउँदा काम गर्न सकिरहेका छैनौँ ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलगायत सबै दल एकमतका साथ उभिएर प्रदेशको अधिकार क्षेत्रका लागि लड्नुपर्ने भएको छ ।’ उनले प्रदेशको औचित्य पुष्टि गर्न सबै एकजुट भएर अघि बढ्नुपर्ने बताए । प्रदेश संरचनालाई स्थापित गरी मजबुत र स्थायी बनाउनका लागि सबै राजनीतिक दलहरू एक ठाँउ उभिन उनले आग्रह गरेका छन् ।

उनले संरचना अभावमा मन्त्रालयहरू विभिन्न ठाउँ छरिएर रहँदा सेवा प्रवाह गर्न असहज भएका कारण प्रदेशको संरचना गर्ने विषय सरकारको मुख्य प्राथमिकता भएको बताए । ‘संरचना अभाव हुँदा मन्त्रालयहरू विभिन्न ठाउँमा छरिएर रहेका छन्, भाडाका घरहरूमा छन्,’ कार्कीले भने ‘त्यसकारण हाम्रो पहिलो र उच्च प्राथमिकता प्रदेश सरकारका आफ्नै भवनहरु बनाउनु हो ।’

स्थानीय र संघीय सरकारसँग निरन्तर सहकार्य र समन्वय गरेर प्रदेशलाई बलियो बनाउन लागि पर्ने उनले बताए । यस्तै प्रदेश सरकारले केहीदिनभित्र न्यूनतम साझा कार्यक्रम ल्याउने पनि मुख्यमन्त्री कार्कीले बताए । सेवा प्रवाहलाई सुशासन कायम गर्दै भ्रष्टाचार शून्यसहनशीलता बनाउने प्रदेश सरकारको उच्च प्राथमिकता भएको बताए ।

प्रदेशले पर्यटन, कृषि, रोजगारी, शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रलाई पनि उच्च प्राथमिकतामा राखेर काम गर्ने कार्कीको भनाई छ । आर्थिक सामाजिक रुपान्तरणका लागि प्रदेश सरकार जिम्मेवार भएको मुख्यमन्त्रीको भनाइ थियो । अघिल्लो कार्यकालमा नामकरण गर्न नसक्दा चौतर्फी आलोचना भएको बताउँदै उनले साझा सहमतिमा नामकरण गर्नु सरकारको उच्च प्राथमिकता भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?