विश्वासको मतबारे कांग्रेसले लिन सकेन निर्णय, बोलाइयो कार्यसम्पादनको बैठक

लोकपथ
0
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने कि नदिने भन्नेबारे नेपाली कांग्रेसले अझै निर्णय गर्न सकेको छैन ।

यसका लागि कांग्रेसले साढे ११ बजे केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । बैठक नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्स हलमा बस्ने पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

बैठकबाट सरकारलाई विश्वासको मत दिने/नदिनेबारे निर्णय गरिने जनाइएको छ । त्यसपछि ल्होत्से हलमै कांग्रेस संसदीय दलको बैठक बस्नेछ । उक्त बैठकले विश्वासको मतबारे आधिकारिक निर्णय गर्ने पौडेलले जानकारी दिए ।

यसअघि आजै विहान विश्वासको मत दिने/नदिनेबारे सभापति शेरबहादुर देउवाको धुम्बाराहीस्थित निवासमा पार्टी पदाधिकारी र पूर्वपदाधिकारीबीच छलफल भए पनि निर्णय लिन नसकेको हो ।

कांग्रेसमा सभापति देउवासहित संस्थापनमा रहेका नेताहरु प्रचण्डलाई विश्वासको मत दिनुपर्ने तथा संस्थापन इतरका नेताहरु प्रतिपक्षमा बस्नुपर्ने पक्षमा छन् ।

सभापति देउवाले बैठकमा प्रचण्डलाई विश्वासको मत दिन प्रस्ताव गरेका थिए । तर संस्थापन विपक्षमा रहेका पदाधिकारीले नमानेपछि यो प्रस्ताव कार्यसम्पादनबाट अनुमोदन गर्न खोजिएको हो ।

विपक्षमा रहेका नेताहरुले केन्द्रीय समितिबाट निर्णय गराउन भनेका थिए । तर, तत्काल बैठक बस्न नसक्ने भएपछि कार्यसम्पादन समितिको बैठकबाट निर्णय गराउन लागिएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?