ब्राजिलमा गरिएको विध्वंशक कृत्यको राष्ट्रसंघ महासचिवले गरे निन्दा, हजारौं पक्राउ

लोकपथ
26
Shares

एजेन्सी । ब्राजिलमा गरिएको विध्वंशक कृत्यको संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले निन्दा गरेका छन् । उता, राजधानी ब्रासिलियामा आतंककारी कृत्यको विरोध तथा प्रजातान्त्रिक पद्धतिको समर्थनमा हजारौं सडकमा ओर्लिएका छन् ।

गत अक्टोबरमा सम्पन्न राष्ट्रपति चुनाव हारेका कट्टर दक्षिणपन्थी नेता जायर बोल्सोनारोका समर्थकले आइतबार ब्राजिलको संसद् भवन, राष्ट्रपति भवन र सर्वोच्च अदालतमासंसद, सर्वोच्च अदालत र राष्ट्रपति भवन प्रवेश गरी आक्रमण गरेका थिए ।

महासचिव गुटेरेसले यो कदम लोकतन्त्रमाथिको उपहास भएको भन्दै नागरिक र प्रजातान्त्रिक संस्थाको इच्छालाई सम्मान गर्न आग्रह गरेका छन् ।

लुइज इनासियो लुला दा सिल्भाले ब्राजिलको राष्ट्रपतिको पदभार ग्रहण गरेदेखि बोल्सोनारोका समर्थकले सदन चल्न दिएका छैनन् भने सडकमा उग्र समर्थक उतारेर आक्रमण गराएकामा उनको निन्दा भइरहेको छ ।

भागेर अमेरिकाको फ्लोरिडामा लुकिरहेका बोल्सोनारोको उक्साहटमा संलग्न भई सरकारी भवनहरुका आक्रमणमा संलग्न भएका हजारौंलाई प्रहरीले नियन्त्रणमा लिएको छ । १५ सयभन्दा बढी व्यक्तिलाई नियन्त्रण लिइएको जनाइएको छ ।

घण्टौ लामो भिडन्तपछि सुरक्षा बलले राजधानी ब्रासिलियामा रहेका महत्वपूर्ण सरकारी भवनहरु नियन्त्रण लिएपनि अन्धाधुन्ध गरिएको आक्रमणबाट निकै ठूलो क्षति भएको खबर छ ।

राष्ट्रपति लुलाले अदालत र संसद् भवन भित्र प्रवेश गरेर आक्रमण गर्नेहरु ‘आतंककारी’ भएको भन्दै उनीहरुलाई कारबाही गर्ने प्रतिबद्धता व्यक्त गरेको बीबीसीले जनाएको छ । उता, हुलदंगा समयमै नियन्त्रण नगरेको र आक्रमणका बेला मौन बसेकामा ब्राजिलको सर्वोच्च अदालतले ब्रासिलियाका गभर्नर इवानेसिस रोचालाई ९० दिनका लागि पदबाट निलम्बन गरेको छ ।

राजधानीमा शान्ति बहाल गर्न नेसनल गार्ड परिचालन गर्नुअघि राष्ट्रपति लुलाले आपत्कालीन विशेष अधिकार घोषणा गरेका थिए । मुख्य सरकारी भवनहरू रहेको राजधानीको मध्य भाग २४ घण्टाका लागि बन्द गर्ने आदेश पनि दिइएको थियो ।

न्यायमन्त्री फुलाभियो डिनोले प्रदर्शनकारीलाई राजधानीमा ओसार्न प्रयोग गरिएका झण्डै ४० वटा बस जफत गरिएको जानकारी दिएका छन् । बोल्सेनारोले गत अक्टोबरको राष्ट्रपतीय चुनावमा भएको आफ्नो पराजय अस्वीकार गर्दै आएका छन् ।

अन्तर्राष्ट्रिय संचार माध्यमहरुले ब्राजिलको यो घटना अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले चुनाव हारेपछि आफ्ना समर्थक उतारेर अमेरिकी संसद भवनमा गराएको आक्रमण जस्तै भएको जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?