दार्चुलामा मात्र तुईनबाट खसेर बेपत्ता हुनेको संख्या तीस, तुईन विस्थापित गर्ने डंका भाषणमै सीमित

काठमाडौं । खोला तर्ने उपयुक्त उपाय नहुँदा अझै पनि देशका धेरै ठाउँमा स्थानीयवासीलाई जोखिमयुक्त तुईनमै भरपर्नुको विकल्प छैन । तुईन तर्नेक्रममा स्कूले बालबालिका, महिला, बृद्धबृद्धादेखि तन्नेरी युवासम्मले खोलामा खसेर ज्यान गुमाएका छन् । र यसतो खबर सुन्नु नियती नै बनिसकेको छ ।

हुनत, २०७२ सालको असोजमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद्ले दुई वर्षभित्र देशलाई तुइनमुक्त बनाउने घोषणा गरेको थियो । त्यसको केही समयपछि ओलीले नेपालमा तुइन बिस्थापित भएको घोषणा पनि गरे ।

घोषणा मात्रै होइन, उनले दिने प्रायःजसो सभा सम्मेलनमा भाषणको एक अंश नै एमाले सरकारले गरेको काम भन्दै तुइन विस्थापितको फेहरिस्त सुनाउनु हुन्छ । तर ती अभिव्यक्तिले उनैलाई गिज्याइरहेको हुन्छ, जब तुईनबाट खसेर अर्को कुनै नेपालीले अकालमा ज्यान गुमाउन विवश बन्दछ ।

तीन बर्षमा सबै तुईन बिस्तापित गरि सक्ने - Tulsipur Online

ओलीको निर्णयपछिको अवधिमा मात्र हेर्ने हो भने, दार्चुला एउटा जिल्लामा मात्रै ८ जनाले तुइन पार गर्नेक्रममा ज्यान गुमाइसकेका छन् । देशका विभिन्न स्थानमा पुल नभएका कारण मानिस तुइन र ट्युबबाटै जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् ।

गत बिहीबार मात्रै दार्चुलाको ब्यास गाउँपालिका– ४ डोकटका १२ वर्षीय दिपेन्द्र विष्ट तुइनबाट खसेर महाकालीमा बेपत्ता भए । भारतको तिउतलामा खर काटेर आमा राई विष्टसँगै घर फर्किने क्रममा उनी तुइनबाट फुत्किएर महाकालीमा खसेका हुन् ।

विष्टकी आमाले खरको भारी तानेर महाकाली पार गरेपछि दिपेन्द्र तुइन चढेका थिए । तुइनमा फलामको ताङ्लो लगाएर तर्ने गरिए पनि उनले लठ्ठामा केही नलगाई तर्दा बीच भागमा पुगेपछि नदीमा खसेका थिए । घटना बिहिबारको भएपनि प्रहरीले भने शनिबार मात्रै खबर पायो । प्रहरीलाई खबर भएपछि मात्रै घटना सार्वजनिक भयो ।

घटनाको चौंथो दिन बित्दासमेत दीपेन्द्रको अझै अत्तोपत्तो छैन । दिपेन्द्र ब्रह्मस्थान आधारभूत विद्यालय डोकटमा ४ कक्षामा अध्ययनरत थिए । बेपत्ता बालकका बुवा शिवराज भने वैदेशिक रोजगारीमा छन् ।

के भन्छ जिल्ला प्रशासन ?

‘दिपेन्द्रको घटना बिहीबार नै भएको रहेछ हामीले शनिबार मात्रै थाहा पायौँ । बेपत्ता भएको खबर पाउनासाथ प्रहरी, सशस्त्रलाई खोजी कार्यका लागि खटाएका छौँ,’ जिल्ला प्रशासन कार्यालय दार्चुलाका प्रमुख दीर्घराज उपाध्यायले लोकपथसँग भने ।

‘धेरै तरिकाले खोजी कार्यलाई अगाडी बढाएका छौँ । माहाकाली किनारमा प्रहरी परिचालन गरी खोजी गरिरहेका छौं । घटनाको बारेमा ढिला गरी खबर भएपछि समस्या भइरहेको छ,’ उनले भने ।

यसअघि असार २२ गते ब्यास– २ का १८ वर्षीय सचिन बुढाथोकी पनि दुम्लिङको बल्लुलुडीमा तुइन नै चुँडिएर महाकाली नदीमा बेपत्ता भए । उनको अवस्था अझै पनि अज्ञात रहेको छ ।

त्यस्तै, २०७० सालमा ब्यास गाउँपालिका– ५ का महेन्द्रसिंह विष्ट श्रीमतीको मृत्युको खबरपछि घर फर्किदैँ थिए । तिरगमघाटको तुइन तर्दै गर्दा उनी पनि महाकाली नदीमा खसेर अलप भए । उनको अवस्था पनि अहिलेसम्म अज्ञात छ । श्रीमतीको मृत्यु भएपछि घर फर्केका विष्ट घरसम्म पनि पुग्न पाएनन् । उनको परिवार शोकमाथि शोक बोकेर बसेको छ ।

त्यस्तै, ब्यास– २ मालगाउँका ३३ वर्षीय जयसिंह धामी पनि गत असारमा भारतीय बाटो हुँदै काठमाडौं जान घरबाट निस्किएका थिए । तर भारतीय सीमा सुरक्षा बलका सुरक्षाकर्मीले तुइन फुस्काइदिएपछि आधी भाग पार गरिसकेका धामी महाकालीमा खसे । महाकालीमा खसेका धामीको अहिलेसम्म अवस्था अज्ञात छ । धामीका परिवारले कुशको शव बनाएर उनकोे अन्त्येष्टि गरेका थिए ।

महेन्द्रसिंह विष्ट, जयसिंह धामी, दिपेन्द्र विष्ट त केबल प्रतिनिधि पात्र मात्रै हुन् । उनीहरु जस्तै सयौं नागरिक तुइनको प्रयोग गर्दा आफ्नो ज्यान गुमाउन विवश छन् । सिंहदरबारको शासक गुड्डी त हाँक्छ तर दुरदराजमा भइरहने यस्ता दुर्घटनाप्रति संवेदनशील बन्दैन । बरु यी घटना केही दिनको खबर बनेर सेलाउँदै जान्छ ।

महाकाली नदीमा अझै छन् ११ वटा तुईन

जिल्ला प्रशासन कार्यालय दार्चुलाका प्रमुख दीर्घराज उपाध्यायका अनुसार हालसम्म दार्चुला जिल्लामा मात्र तुइनबाट बेपत्ता हुनेको संख्या ३० रहेको छ । उनले थपे, ‘बेपत्ता भएकाहरुको पूर्ण डाटा त हामीसँग छैन । तर नगर वडा, प्रहरी र स्थानीयहरुले भनेका आधारमा हालसम्म ३० जना बेपत्ता भएको तथ्यांक पाएका छौं,’ उनले लोकपथलाई भने ।

२१ औँ शताब्दीको विश्वले विभिन्न प्रविधिमा फड्को मारे पनि धेरै नेपाली पुल प्रयोग गर्न नपाएकै कारण मर्न बाध्य हुनुजस्तो बिडम्वना के होला ? तुइनमा झुण्डिएर विद्यालय जानुपर्ने कलिला बालबालिकाको बाध्यता कहिले हटाउँछ सरकारले ?, गर्भवती महिला, ज्येष्ठ नागरिक वा तन्नेरी पाखुरीहरु अनेक नामका खोलामा बगेर अलप हुने नियतीलाई कुन वादको सरकार बन्यो भने सम्बोधन होला ? जवाफ देउ सरकार !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?