ब्राजिलमा बोल्सोनारोका उग्र समर्थकले गरे संसद र राष्ट्रपति भवनमा आक्रमण, संसारभरबाट निन्दा

लोकपथ
91
Shares

एजेन्सी । ब्राजिलमा राष्ट्रपति भवनदेखि संसद भवनसम्म भीषण आक्रमण गरिएको छ । पूर्व राष्ट्रपति जायर बोल्सोनारोका उग्र समर्थकहरुले ब्राजिलको संसद र राष्ट्रपति भवनमा आक्रमण गरेका हुन् ।

उग्र दक्षिणपन्थी विध्वंशकहरुको पञ्जाबाट राष्ट्रपति लुला डि सिल्भालाई राष्ट्रपति भवनबाट सुरक्षाकर्मीले सुरक्षित अर्को स्थानमा लगेका छन् ।

हालै सम्पन्न राष्ट्रपतीय निर्वाचनमा पराजीत बोल्सोनारोका हजारौं विध्वंशक समर्थकले राष्ट्रपति भवन, संसद भवन, सर्वोच्च अदालत भवन लगायत सरकारी कार्यालयमा प्रवेश गरी अन्धाधुन्ध रुपमा ध्वंश मच्चाएका हुन् ।

आक्रमणको दृश्य गएको वर्ष अमेरिकाको संसद भवन आक्रमण गर्न पुगेका ट्रम्पका उग्र समर्थकले गरेझै देखिएको बीबीसीले जनाएको छ । बोल्सोनारोका समर्थकले पनि ट्रम्पका समर्थकले झै चुनाव हारेको कुरा अस्वीकार गर्दै आएका छन् ।

राष्ट्रपति लुलाले आक्रमणकारी अपराधीहरुलाई नछाडिने र दण्डको कठघरामा उभ्याइने बताएका छन् । सुरक्षकर्मीले सबै स्थान नियन्त्रणमा लिइसकेको जनाएको छ ।

उता, भागेर फ्लोरिडा पुगेर बसिरहेका बोल्सोनारोले भने संसद भवनमा गरिएको आक्रमणको निन्दा गर्दै आफ्नो उक्साहटमा गरिएको भन्ने राष्ट्रपति लुलाको आरोपलाई अस्वीकार गरेका छन् ।

घटनाको अमेरिकासहित संसारभरका नेताहरुले निन्दा गरेका छन् । अमेरिकी राष्ट्रपति जो बाइडनले भत्सर्ना गरेका छन् । ब्राजिलका लोकतान्त्रिक संस्थाहरुलाई आफ्नो सधै साथ रहने उनले प्रष्ट गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?