लोसपामा प्रधानमन्त्रीलाई विश्वासको मतबारे निर्णय लिने अधिकार अध्यक्षलाई

लोकपथ
39
Shares

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), नेपालले प्रधानमन्त्रीलाई विश्वासको मत दिने सम्बन्धमा निर्णय लिने अधिकार अध्यक्षलाई दिएको छ ।

काठमाडौंको बबरमहलस्थित पार्टी केन्द्रीय कार्यालयमा आइतबार बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले प्रधानमन्त्रीलाई विश्वासको मत दिने विषयको निर्णय लिने जिम्मा अध्यक्ष महन्थ ठाकुरलाई दिने निर्णय गरेको हो । प्रधानमन्त्री पुष्पकमल दाहालले पुस २६ गते मंगलबार प्रतिनिधिसभामा विश्वासको मतको प्रस्ताव पेस गर्ने तय भएको छ ।

बैठकले मधेस प्रदेशको संसदीय दलको संशोधित विधान अनुमोदन गरेको छ भने पार्टी संगठन विस्तारको कामलाई यथाशीघ्र अगाडि बढाउने निर्णय गरेको लोसपाले जनाएको छ । यसैबीच, अध्यक्ष ठाकुरले सरकारलाई विश्वासको मत दिनका लागि औपचारिक प्रस्ताव नआएको बताए ।

प्रचण्ड र ओलीले दुवैले आफूलाई प्रस्ताव नगरेको उनको भनाइ छ । कार्यकारिणी समितिको बैठकपछि उनले आफूहरु हालसम्म पुरानै गठबन्धनमा भएको भन्दै कांग्रेससँग पनि कुनै सल्लाह नभएको बताए ।

विश्वासको मत दिन कसैले औपचारिक प्रस्ताव नगरेकाले २६ गतै नै निर्णय लिइने पनि उनको भनाइ थियो । आफूले राखिरहेका माग पूरा गर्ने प्रतिबद्धता आएमा त्यहीअनुसार छलफल हुने पनि उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?