६० सांसदकाे समर्थनसहित एमालेका हिक्मत कार्कीद्वारा प्रदेश १ को मुख्यमन्त्रीमा दाबी पेश

विराटनगर । नेकपा एमाले प्रदेश १ संसदीय दलका नेता हिक्मतकुमार कार्कीले प्रदेश १ को मुख्यमन्त्रीमा नियुक्तिका लागि दाबी पेश गरेका छन् ।

६० जना प्रदेशसभा सदस्यको समर्थनसहित कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङ समक्ष आफ्नो दाबी पेश गरेका हुन् ।

प्रदेश प्रमुखले सरकार गठनका लागि दिएको समय आज बेलुका ५ बजेसम्म रहे पनि कार्कीले त्यसअगावै आफूलाई समर्थन गर्ने दलको सूचीसहित दाबी गरेका हुन् ।

संविधानको धारा १६८ को उपधारा २ बमोजिम कार्कीलाई मुख्यमन्त्रीमा नियुक्ति गर्न नेकपा एमाले, माओवादी केन्द्र, राप्रपा र जसपाका ६० सांसदले समर्थन दिएका हुन् ।

९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ मत आवश्यक पर्छ । नेकपा एमालेको ४०, नेकपा माओवादी केन्द्रको १३, राप्रपाको ६ र जसपाको १ गरी सत्तारुढ दलसँग ६० जना सांसद छन् ।

प्रतिपक्षमा रहेको नेपाली कांग्रेसको २९ र नेकपा एकीकृत समाजवादीको भने ४ सिट छ ।

कार्कीलाई मुख्यमन्त्रीमा समर्थन गर्दै माओवादी केन्द्रका संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो, राप्रपा संसदीय दलका नेता भक्तिप्रसाद सिटौलासहित नेताहरु प्रदेश प्रमुखको कार्यालय पुगेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?