एमाले रक्तबिज भएकाे भन्दै ओलीले भने– ‘परमादेशी गठबन्धन ढाल्नु एमालेको सफलता’

लोकपथ
65
Shares

धुलिखेल । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सात दलीय गठबन्धनलाई ढाल्नु आफूहरुको ठूलो सफलता भएको दाबी गरेका छन् ।

आइतबार धुलिखेलमा पार्टीको कार्यक्रममा असंवैधानिक र अनैतिक ढंगबाट बनाइएको परमादेशी गठबन्धनलाई परास्त गर्ने आफूहरूको चुनावअघिको घोषणा सफल भएको दाबी उनले गरेका हुन् ।

देशी–विदेशी शक्तिहरूको षडयन्त्रलाई असफल पार्दै एमालेको अगुवाइमा परमादेशी गठबन्धन भत्काइएको भन्दै उनले भने, ‘हामीले असंवैधानिक र अनैतिक ढंगले अदालतले बनाइदिएको परमादेशी गठबन्धनलाई परास्त गरेर नयाँ जनादेश बमोजिम सरकार बनाउँछौं भनेर चुनावमै भनेकै थियौं । त्यसलाई निर्वाचनपछि सफलतापूर्वक सम्पन्न गरेका छौं ।’

नेकपा एसका अध्यक्ष माधव नेपालप्रति कटाक्ष गर्दै ओलीले भने, ‘हिजोतिर एकजना नेताले एमालेले गलत दिशामा लगेको राजनीति सही बाटोमा ल्यायौं, दुईतिहाइको हैसियतप्राप्त कम्युनिष्ट पार्टी राष्ट्रिय शक्ति बन्नु गलत ट्रेण्ड थियो, त्यसलाई असंवैधानिक ढंगले अदालतबाट कोर्ष करेक्सन गर्याै भनेछन् । माया लाग्यो त्यस्ता व्यक्ति देखेर, अझ आफूलाई वामपन्थी पनि भन्छन् । मो नेता हो नेता, कार्यकर्ता होइन भन्छन् । त्यस्ता मान्छेले जनताको शक्तिलाई कमजोर गरेकोमा कोर्ष करेक्सन गरेको ठान्छन् । कठैबरा भन्न सकिन्छ, कठैबरा ।’

एमाले रक्तबीज भएको भन्दै ओलीले कांग्रेसले गठबन्धनको बल र बुथ कब्जा गरेर एमालेभन्दा केही सीट बढी जितेको आरोप पनि लगाए । जनताले लोकप्रिय मतमा एमालेलाई पहिलो बनाएको दाबी पनि उनको थियो ।

सात दलीय गठबन्धन फुटाउन कांग्रेसले गरेको प्रयास व्यर्थै हुने भन्दै ओलीले कतिपय नेतालाई प्रधानमन्त्री दिउँला भनेर फकाए पनि कुन धाराबाट दिने भन्ने प्रश्न गरे ।

धारा ७६ (२) अनुसार बनेको यो सरकारपछि त उपधारा ३ मा जान्छ, त्यतिबेला त देउवा नै प्रधानमन्त्री बन्छन् । यो प्रयास विफल भएपछि कांग्रेसले उपप्रधानमन्त्री र सभामुख दिउँला भनेर कार्ड फालिरहेको पनि बताए ।

प्रधानमन्त्रीले २६ गते विश्वासको मत पाउँने प्रष्ट गर्दै ओलीले भने, ‘कसैले ढाल्न नखोजे हुन्छ, यो एमालेले बनाएको सरकार हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?