नागरिकको सेवा र सहजताका लागि काम गर्न जिम्मेवारीमा आएको हुँ : गृहमन्त्री लामिछाने

लोकपथ
39
Shares

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले नागरिकको सेवा र सहजताका लागि काम गर्न आफू जिम्मेवारीमा आएको बताएका छन् । उनले आफू नेतृत्वमा रहँदा मात्र उच्च सुरक्षा घेरामा हिडडुल गरेर नागरिकको अपेक्षा पूरा नहुने उल्लेख गरेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेका छन्, ‘म मेरो भन्दा पनि नागरिकको सेवा र सहजताका लागि काम गर्न यो जिम्मेवारीमा आएको हुँ । म आफुले बोलेका कुरा इमान्दारिताका साथ पूरा गर्नेछु ।’

गृहमन्त्री लामिछानेले गृहमन्त्रीको नियुक्ति लगत्तै आफ्नो सुरक्षामा खटिने प्रहरी निरीक्षकको नेतृत्वलाई घटाएर प्रहरी नायब निरीक्षक (सई) को नेतृत्व सुरक्षाकर्मी राखेकोसमेत बताएका छन् ।

सवारीका क्रममा रहने अगुवा–पछुवा सुरक्षाकर्मी सहितको गाडी हटाएर मैले आजैबाट अगाडी एउटामात्र गाडी सुरक्षामा राख्ने निर्णय गरेको भन्दै उनले भैपरी आउँदाको परिस्थितिलाई अपबाद मानिदिन समेत आग्रह गरेका छन् ।

गृहमन्त्री लामिछानेले सडक नियमको पूर्ण पालना सबैले गर्नुपर्छ भनेर नियम लागु गराउने निकायको नेतृत्व गर्ने म सधै ट्राफिक बत्तिमा लाईन बसेर नै यात्रा गर्छु र सडक लेन अनुशासन पूर्ण पालना गर्ने गराउने कुरामा प्रतिबद्ध रहेको उल्लेख गरेका छन् ।

उनले लेखेका छन्, ‘कुनै अकाट्य परिस्थिति आइ पर्दा बाहेक म आफनो कार्यकाल भरी नै यी नियम पालना गर्छु । साईरन बजाएर नागरिकलाई उछिन्दै हिड्ने प्रवृतिको म सधै आलोचक हुँ,आकस्मिक अवस्थामा बाहेक मबाट यस्तो गतिविधि हुँदैन ।’

उनले व्यक्तिगत कामका लागि कतै जानु परेमा वा बिदाका दिनमा आफ्नै सवारीसाधन प्रयोग गर्ने र कुनै अवस्थामा सरकारी सवारीसाधन प्रयोग गर्नु परेमा त्यसको हिसाब राज्यलाई बुझाउने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?