रविको मुद्दाको अन्तिम सुनुवाई माघ ११ मा, सातदिनभित्र कागजात झिकाउन आदेश

लोकपथ
65
Shares

काठमाडौं । गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकता र राहदानी विवादसम्बन्धी मुद्दाको अन्तिम सुनुवाई माघ ११ गतेका लागि तोकिएको छ ।

अन्तरिम आदेश दिन अस्वीकार गरेको सर्वोच्च अदालतको संवैधानिक इजलाशले माघ ११ गते यो प्रकरण टुंग्याउने गरी पेशी तोकेको हो । अग्राधिकार दिइएको मुद्दाको आदेशमा अध्यागमन विभाग वा जिल्ला प्रशासन कार्यालयमा रविले बुझाएको पत्र र प्रहरीले उनको नागरिकता र राहदानीबारे गरिरहेको अनुसन्धानको फाइल सात दिनभित्र मगाउन भनिएको छ ।

कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीश ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा र प्रकाशमान सिंह राउतको संयुक्त इजलाशले माघ ११ गते पेशी नसर्ने गरी अन्तिम सुनुवाई गर्ने आदेश पनि दिएको हो ।

इजलाशमा रविका वकीलहरुले कुनै पनि व्यक्ति राज्यहीन हुन नसक्ने र उनले अमेरिकी नागरिक बनेको कानुनी हक छाडेकाले स्वतः नेपाली नागरिक भएको तर्क गरेका थिए ।

रिट निवेदकहरु तर्फका वकीलहरुले भने विदेशी नागरिकको कानुनी अधिकार त्यागे पनि विदेशी नागरिक बन्दा निष्क्रिय बनेको नेपालको नागरिकता लिन पुन प्रक्रियामा नगएकाले रवि अहिले नेपाली नागरिक नै नभएको जिकीर गर्दै सांसद पद खारेजको माग गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?