जिल्ला प्रशासन काठमाडौंमा ‘टाइम कार्ड’ लागु, एक घण्टामै नागरिकता (भिडियोसहित)

काठमाडौं । सरकारी कार्यालयमा समयमा कामै हुँदैन, कर्मचारीले झुलाइरहन्छन्, उस्तै परे पैसाको समेत चलखेल हुन्छ भने विचौलियाको हालिमुहाली रहन्छ ।

आमरुपमा नेपालका अधिकांश सरकारी कार्यालयको बेथिती यही नै हो । तर, केही सरकारी कार्यालयले भने सेवाप्रवाहमा फरकपन ल्याउन थालेका छन् । जसको सानो प्रयासले सेवाग्राहीलाई सहज भएको छ ।

त्यसको गतिलो उदाहरण बनेको छ– जिल्ला प्रशासन कार्यालय, काठमाडौं । जसले सेवाग्राहीको सहजताका लागि बिहिबारदेखि टाइम कार्ड लागू गरेको हो ।

उसो त सेवाग्राहीले आवश्यक कागजात पूरा गरेको अवस्थामा समयमै सेवा पाइसक्नेछन् । त्यसमा पनि अत्याधिक चाप हुने नागरिकता र राहदानीका लागि आवेदन दिएकाहरुले एक घन्टाभित्र पाइसक्ने जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्याय बताउँछन् ।

सेवाग्राहीको गुनासो आइरहने भएकाले यसको दीगो समाधानका लागि यो नियम लागू गरिएको प्रमुख जिल्ला अधिकारी उपाध्याय बताउँछन् ।

यो प्रणालीलाई देशैभरका सरकारी कार्यालयमा लागू गर्ने हो भने पक्कै पनि सेवाग्राहीले समयमै सेवा पाउने र, गुनासो पनि सुन्न नपर्ने उनी बताउँछन् ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले १० वटा सेवाहरुमा टाइम कार्ड लागु गरेको छ । जसअनुसार अब संस्था नविकरणका लागि ३० मिनेटको समय लाग्नेछ । भने, राहदानी वितरणका लागि १५ मिनेटको समय छुट्टाइएको छ ।

नयाँ नागरिकता र नाबालाक प्रमाणपत्रका लागि १÷१ घण्टाको समय तोकिएको छ । त्यस्तै, राष्ट्रिय परिचयपत्र कार्ड वितरणका लागि ३० मिनेटको समय छुट्याइएको छ ।

प्रशाशन शाखामा सामान्य सिफारिस गर्न १ घण्टा, त्यस्तै हातहतियार नविकरणका लागि १ घण्टा, र मुद्धाका लागि पेशी र तारिख दिन ३० मिनेटको समय राखिएको छ । फैसलाका लागि भने ६० दिनको समय राखिएको छ ।

त्यसैगरी प्रशासन कार्यालयबाट उपलब्ध हुने सेवा प्रवाह सम्बन्धी गुनासो सुन्ने समय दिउँसो ३ बजेदेखि ४ बजेसम्म राखिएको छ ।

कार्यालयले जनमुखी काम गरेकोप्रति सेवाग्राही पनि उत्साहित देखिन्छन् । शुक्रबार नागरिकता बनाउन कार्यालयमा आएकी उन्नती पराजुली आफूले पाएको कार्डमा १ घण्टा लेखिएको भएपनि त्यसअघि नै आफूले नागरिकता पाइसकेको बताउँछिन् ।

त्यस्तै, कागेश्वरी मनोहरा–७ मुलपानीका चन्द्रबहादुर केसी नागरिकताको प्रतिलिपि लिन जिल्ला प्रशासन कार्यालय काठमाडौं आएका थिए । उनले पनि आधा घण्टा भित्रै नागरिकता प्रतिलिपि पाए । सरकारी कार्यालयमा यति छिटो सेवा पाएकोमा निकै खुसी लागेको उनी बताउँछन् ।

सरकारी कार्यालयको कामलाई यसैगरी चुस्त दुरुस्त बनाउने हो भने पक्कै पनि देशको प्रशासनिक निकायमाथि लाग्दै आएको आरोपलाई निस्तेज गर्न सकिन्छ । यसतर्फ सम्बन्धित निकायको ध्यान भने समयमै पुग्न जरुरी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?