काठमाडौं । गण्डकीका प्रदेश प्रमुख पृथ्वीमान गुरुङले दलहरुलाई मुख्यमन्त्रीमा दाबी पेश गर्न चार दिनको समय दिएका छन् । दुई वा दुई भन्दा बढी दलको समर्थनमा सरकार बनाउनका लागि दलहरुलाई उनले आज आह्वान गरेका हुन् ।
दुई वा दुई भन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभा सदस्यले पुस २५ गते सोमबार ४ बजेभित्र दाबी पेश गर्नु पर्ने सूचना जनाइएको छ । गण्डकी प्रदेशमा कुनै पनि दलको बहुमत नआएकाले दुई वा दुई भन्दा बढी दलको समर्थनमा बहुमतको सरकार बनाउन आह्वान गरिएको हो ।
प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चण्डीप्रसाद अर्यालले निकालेको विज्ञप्तिमा भनिएको छ, ‘नेपालको संविधान, २०७२ को धारा १६८ को उपधारा २ बमोजिम प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त गर्नसक्ने प्रदेश सभा सदस्यलाई गण्डकी प्रदेशको मुख्यमन्त्री नियुक्ति गर्नका लागि पुस २५ गते ४ बजेभित्र दाबी पेश गर्न प्रदेश प्रमुखबाट आह्वान गर्नुभएको व्यहोरा जानकारीका लागि अनुरोध छ ।’
प्रदेश प्रमुखले सरकार गठनका लागि आह्वान गरे पनि सत्ता गठबन्धनमा भने नेतृत्व कसले गर्ने भन्ने टुंगिएको छैन । प्रदेशका नेताहरु केन्द्रबाट नेताहरुको निर्देशन कुरिरहेका छन् । गण्डकीमा एमालेका २२, माओवादीका ८, राप्रपाका २ जना सांसद मिलेर सरकार बन्ने सम्भावना छ । ६० सदस्यीय गण्डकी प्रदेश सभामा कांग्रेसका २७ र एकीकृत समाजवादीका १ जना रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया