न्युनतम साझा कार्यक्रममा आम नागरिकको विषयलाई पहिलो प्राथमिकता : गृहमन्त्री

लोकपथ
39
Shares

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सरकारले ल्याउने न्युनतम साझा कार्यक्रम आम नागरिकको विषयलाई पहिलो प्राथमिकतामा राखेर आउने बताएका छन् ।

बिहिवार मन्त्रिपरिषद्को बैठकपछि सञ्चारकर्मीहरुसँग सरकारले ल्याउने साझा कार्यक्रमबारे बोल्दै सरकारका न्युनतम साझा कार्यक्रम आम नागरिकको विषयलाई पहिलो प्राथमिकतामा राखेर आउने बताएका हुन् । उनले अहिलेको सरकार जनमतको आधारमा बनेको भन्दै जनमतको चाहाना पूरा गर्नेगरी कार्यक्रम आउने बताए ।

उनले सरकारको साझा कार्यक्रममा स्वास्थ्य क्षेत्रको सुधार, टाइम कार्ड लगाएर लाइन लाग्नुपर्ने झन्झटलाई अन्त्य गरेर सेवा प्रवाहलाई चुस्त बनाउन र युवा स्वरोजगारसहित विभिन्न नीतिगत कार्यक्रम समेटिने बताए । उनले जनतालाई सहज बनाउने तथा भ्रष्टाचार नियन्त्रण गर्ने साझा एजेण्डामा कुनैपनि दलको विमति नभएको बताए ।

उनले साझा कार्यक्रम अन्तिम चरणमा पुगेको बताउँदै सरकारमा रहेका पार्टीहरु विचार र सिद्धान्तभन्दा पर गएर न्युनतम साझा कार्यक्रममार्फत अघि बढ्ने बताए । उनले सरकारले आम नागरिकको विषयलाई पहिलो प्राथमिकतामा राखेर अगाडि बढेकाले त्यो विषयमा पनि विवाद भयो भने त राजनीतिक दल हुन नसक्ने धारणा राखे ।

उनले नागरिकलाई सुख र सुविधा दिने हकमा, बेथितिलाई अन्त्य गर्ने हकमा, भ्रष्टाचारलाई निर्मुल गर्ने विषयमा पनि साझा कार्यक्रम ल्याउने विषयमा सबै दल सहमत रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?