अमेरिकाले चुन्न सकेन सभामुख, रिपब्लिकन म्याकर्थीलाई उनकै सांसदले दिएनन् मत

लोकपथ
26
Shares

काठमाडौं । अमेरिका सभामुख चुन्न फेरि विफल भएको छ । संसदको तल्लो सदन ‘हाउस अफ रिप्रिजेन्टेटिभ’ मा बहुमत रहेको रिपब्लिकनले आफ्नै उम्मेदवारलाई पनि सभामुख बनाउन नसकेको हो ।

जनवरी ३ मा नयाँ कार्यकाल थालेको संसदमा सभामुख चयनको लागि दुई दिनमा ६ पटक मतदान हुँदा पनि सभामुखका आकांक्षी रिपब्लिकन सांसद केभिन म्याक्कार्थीले सभामुख चुनिन आवश्यक २१८ मत जुटाउन नसकेका हुन् ।

४ सय ३५ सदस्य रहेको अमेरिकी तल्लो सदनमा एक जना सांसदको पद रिक्त छ । बहुमत रहेको रिपब्लिकनको २२२ तथा अल्पमतमा रहेको डेमोक्रेट्सको २१२ सांसद छन् ।

रिपब्लिकनका चार जना सांसदले आफ्नै पार्टीका उम्मेदवार म्याक्कार्थीलाई भोट नदिँदा यो समस्या भएको हो । ती चार सांसद एण्डी बिग्स, चिप रोय, म्याट गेइत्ज र लौरेन बोएबर्ट हुन् । रिपब्लिकनका उग्र दक्षिणपन्थी समूहले फ्लोरिडाका सांसद बाइरन डोनाल्ड्सलाई सभामुखको रुपमा अघि सारेको छ ।

४ तारिखका दिन भएको मतदानमा म्याकर्थीले २०१ मत पाउँदा डेमोक्रेट उम्मेदवार हकिम जेफ्रीइज २१२ तथा रिपब्लिकन विद्रोही समूहका फ्लोरिडाका सांसद बाइरन डोनाल्ड्सले २० मत पाए । एक जना मतदानमा अनुपस्थित रहे ।

सभामुख चयनको प्रयास बिहीबार गरिने तयारी भए पनि म्याक्कार्थीले भने सहमतिका लागि केही समय आवश्यक भएको भन्दै बिहीबार मतदान नगराउन अपिल गरेका छन् ।

अमेरिका इतिहासमा एक शताब्दीयता पहिलो पटक सभामुख चुन्न विफल भएको हो । सन् १९२३ पछि अमेरिकी संसद पहिलो पटक पहिलो चरणको मतदानमा सभामुख छान्न नसकेको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?