टी-ट्वान्टी लिग म्याच फिक्सिङ प्रकरण : निर्ममतापूर्वक कार्वाहीको डण्डा चलोस्

आफूले खनेको खाल्डोमा आफै फस्दै क्यान !

काठमाडौंमा जारी टी–ट्वान्टी लिगमा मिलेमतो अर्थात् म्याच फिक्सिङ भएको खबर सार्वजनिक भएपछि यसले सनसनी मच्चाएको छ । खेलाडीदेखि क्यानसम्ममा प्रश्न उठाउनेहरु बढेका छन् । क्यानले भने आफुमाथि लगाएको आरोप प्रमाणित गर्न चुनौती नै दिएको छ ।

केही वर्षअघि नेपाली फुटबलका कप्तान नै म्याच फिक्सिङमा संलग्न रहेको आरोपले फुटबल खेलमा जसरी धब्बा लागेको थियो, उसैगरी क्रिकेटमा भित्रिएको यो रोगले नेपाली क्रिकेट खेललाई खाला भन्नेमा सरोकारवालाहरुले चिन्ता व्यक्त गर्न थालेका छन् ।

बिहिबार टी–ट्वान्टी लिगका कमेन्टेटर सचिन तिम्सिनाले आफ्नो सामाजिक सञ्जालमा एक भिडियो पोस्ट गर्दै नेपाल टी–ट्वान्टी लिग क्रिकेटमा फिक्सिङ भएको आरोप लगाए । जसले सबैलाई कान ठाडो पार्न बाध्य बनायो । लामो समयदेखि नेपाली क्रिकेटलाई नजिकबाट नियालिरहेका सचिनले भिडियोमा मुख खोल्दै नेपाल टी–ट्वान्टी लिग क्रिकेटमा फिक्सिङ भएको आरोप लगाएका थिए । विभिन्न लिगमा कमेन्ट्री गर्दै आएका उनले नेपाल टी–ट्वान्टी लिगमा कमेन्ट्री गरेको दश दिन मात्रै भएको थियो । नेपाली क्रिकेट र आफूलाई नै अन्याय गर्न नसक्ने भन्दै उनले विषय सार्वजनिक भएपछि सरोकारवाला निकायमाथि प्रश्न बर्सिएको हो ।

उनले भनेका छन्, ‘फिल्डमा धेरै घटनाहरु देखेँ । जसले मलाई बिल्कुलै आस्चर्य लाग्यो । एसियन प्रिमियर लिग भएको थियो २०१७ मा । त्यसमा फिक्सिङ कुराहरु सुनेको थिएँ, त्यो पनि भारतीबाट भएको थियो । क्यान नै इनभल्भ भएपछि क्रिकेट सफा रहन्छ भन्ने आशा गरेको थिएँ । तर यस्ता यस्ता घटना देखेँ जसमा फिक्सिङ भएकोे देखे ।’

आजभोलि म्याच फिकसिङभन्दा पनि स्पोर्ट फिक्सिङ हुने गरेको उनको आरोप छ । उनको भनाइ छ, ‘आजभोलि म्याच फिकसिङभन्दा पनि स्पोर्ट फिक्सिङ हुन्छ जसले रिजल्टमा असर गर्दैन तर खेल खेल्दै गर्दा पिचमा खेलाडीले यस्ता हर्कत गर्छन् जुन पहिल्यैबाट निर्देशित हुन्छ ।’

नाम नै नसुनिएका र नचलेका विदेशी कप्तान खेलाडीहरुलाई ल्याएर कप्तानी गराउनुमा नै शंका भएको उनले बताएका छन् । नेपाली कप्तान हुँदाहुँदै विदेशी कप्तानलाई ल्याएर खेलाउनुमा शंका भएको उनको ठहर छ । सबैभन्दा पीडादायीक अनुभव भन्दै उनले नेपाली राष्ट्रिय टोली कै एक जना अलराउण्डरको हर्कतबारे बताए । ‘एक नेपाली बरलले एक ओभरमा बलिङ गरे र नो बल फाले । जुन उनले जानाजान फालेका हुन् किनभने प्रोफेस्नल खेलाडीले त्यति लामो नो बल फाल्ने सम्भावना नै रहँदैन । खेलाडी को हुन् म नाम खुलाउन्न,’ उनले थपे ।

यो सबै दृश्यलाई नजिकबाट देखेका सचिनले एन्टी करप्सन अफिसरलाई घटनाबारे रिपोटिङ गरे । तर परिस्थिति टसको मस भएन । ‘राम्रो खेलिरहेको खेलाडीलाई बाहिर राखिएको छ । खेल चलिरहेको बेलामा म्याच म्यानेजर फिल्डरसँग कुरा गर्न खेलाडीको ब्रिफ लगाएर फिल्डमा घुमिरहेका छन् । यो हदसम्मको बदनियत नेपाली क्रिकेटमा देखिन थालेका छन्,’ उनले भने ।

उनको भिडियोले सामाजिक सञ्जालमा स्थान पायो । कतिपयले सचिनको कुरालाई हावादारी कुरा भन्दै कमेन्ट गरेका भएपनि मंगलबार नै भएको टी–ट्वान्टी म्याचपछि काठमाडौं नाईट्सका कप्तान ज्ञानेन्द्र मल्लले आफ्नो टिमका एक जना खेलाडीलाई म्याच फिक्सिङको अफर आएको बताए । त्यसपछि सचिनले लगाएको आरोपमा सत्यता भएको स्वीकार्न सबैलाई कर लाग्यो ।

ज्ञानेन्द्र मल्लले खेलपछिको पत्रकार सम्मेलनमा आफ्नो टिमको एक सदस्यलाई अफर आएको र आफूहरूले माथिल्लो तहमा कुरा पुर्याइसकेको बताएका थिए । कप्तान मल्लले भने, ‘फिक्सिङ गर्नु र अप्रोच आउनुमा धेरै फरक छ । हामीले त्यसलाई लिने या नलिने भन्ने कुरा हो । हामीले त्यो कुरालाई बेवास्ता गर्यौँ ।’

ज्ञानेन्द्र मल्ल इपिएल नखेल्ने

ज्ञानेन्द्र मल्लपछि राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान पारस खड्काले पनि नेपाल टी ट्वान्टी लिगको निष्पक्ष छानविन गर्न माग गरेका छन् । खड्काले निष्पक्ष छानविन गरेर दोषीमाथि कडा कारवाही गर्न माग गरेका छन् । उनले लिगमा स्पट फिक्सिङ जस्तो गम्भीर अपराध भएको खबरले आफुलाई स्तब्ध पारेको र यस खेलमा समर्पित सम्पूर्ण सरोकारवालाको विश्वासलाई फिक्सिङको घटनाले चोट पुर्याएको बताएका छन् ।

पारस खड्का : सफल कप्तान

क्यानसमेत संलग्न यस प्रतियोगितामा फिक्सिङको एकपछि अर्को खबर बाहिरिएपछि नेपाली क्रिकेटका सरोकारवाला निकायले चिन्ता ब्यक्त गरेका छन् ।

के भन्छ क्यान ?

यता, नेपाल क्रिकेट संघले भने बुधबार एक विज्ञप्ति निकाली पौष ९ गतेदेखि काठमाडौमा संचालन भइरहेको टी ट्वान्टी लिगमा म्याच फिसिङ भएको भन्ने सम्बन्धमा फैलाईएको खबर भ्रामक र मिथ्या भएको दाबी गरेको छ । क्यानका कार्यवाहक सचिव प्रशान्त विक्रम मल्लले उक्त विषयमा संघको गम्भीर ध्यानाकर्षण भएको पनि बताए ।

Cricket Association of Nepal - Wikipedia

उनले म्याच फिसिङका बारेमा जानकारी भएमा प्रमाणसहित नेपाल क्रिकेट संघको केन्द्रीय कार्यालय वा हाल चलिरहेको एन्टी करप्सन यूनिटमा उजुरी बुझाउन पनि भनेका छन् ।

अनुसन्धानमा गृह मन्त्रालयको चासो

नेपाल टि-ट्वान्टी लिगमा म्याच फिक्सिङको प्रश्न उठेपछि गृह मन्त्रालयले पनि चासो देखाउँदै छानबिनका लागि सम्बन्धित निकायलाई निर्देशन दिएको छ ।

गृह मन्त्रालयले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) लाई छानबिनका लागि निर्देशन दिएको हो ।

नेपाल टी–ट्वान्टी लिग शुरुदेखि नै विवादित

क्यान मुख्य आयोजक रहेको नेपाल टी–ट्वान्टी लिग शुरुवातदेखि नै विवादमा छ । बेटिङ कम्पनी सेभेन थ्री स्पोर्टस्लाई कमर्सियल अधिकार दिएर क्यानले प्रतियोगिताको आयोजना गरेको हो । भरतीय कम्पनीलाई कमर्सियल अधिकार दिएसँगै क्यानको चौतर्फी आलोचना भएको थियो । यद्यपि, क्यानका अध्यक्ष चतुरबहादुर चन्द भने जसले दिएपनि पैसा नै दिने भएपछि जसले धेरै पैसा दियो उसैलाई जिम्मेवारी दिइएको जवाफ फर्काउँछन् ।

गत जेठमा क्यानले प्रतियोगिता मिति सार्वजनिक गरेको थियो । खेलाडी र क्यानले प्रतियोगिताको अघिल्लो दिनसम्म खातामा पैसा पठाउने बताएका थिए । तर क्यानका अध्यक्षले भने जस्तो खेलाडीले समयमै पैसा पाएनन् । विभिन्न बाहानामा प्रतियोगिता नै तीन पटक सर्यो । प्रतियोगिता पुस ७ देखि आयोजना हुने कार्यतालिका थियो । तर तयारी नपुगेको भन्दै दुई दिन पछि सारियो ।

क्यानका अध्यक्ष चन्दले लिग शुरु हुने अगिल्लो दिन पनि खेलाडीहरुले पैसा पाउने आश्वासन दिइरहेका थिए । त्यसपछि लिग शुरु भयो । खेलाडीको खातामा पैसा भने पुगेन । ९ र १० गते सार्वजनिक बिदा परेकाले बैंक बन्द रहेको बाहाना देखाउदै क्यानले खेलाडीलाई पैसा पठाउन नपाएको भन्दै टारेको थियो ।

तर लिग शुरु भएर पनि खातामा पैसा नआएपछि विशेष गरी विदेशी खेलाडीले मंगलबार टस नै गरेनन् । खेलाडीले खेलअघि ४० प्रतिशत र प्रतियोगिता चलिरहँदा ६० प्रतिशत पारिश्रमिक रकम पाउनु पर्ने सहमति थियो तर पैसा नपाएपछि उनीहरुले टस नै नगरेका हुन् । त्यसपछि दुई दिनमा पैसा दिने भन्ने सहमति भएपछि खेल शुरु भएको थियो ।

छानबिन गर्न राखेपद्वारा समिति गठन

राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले नेपाल टी-ट्वान्टी लिग क्रिकेटको पछिल्लो समय देखिएको विवाद र घटनाक्रमबारे छानबिन गर्न समिति गठन गरेको छ ।

परिषद्को कार्यकारी समितिको बुधबार बसेको बैठकले परिषद्को कार्यकारी समितिका सदस्य एकेन्द्र बहादुर कुँवरको संयोजकत्वमा ५ सदस्यीय छानबिन कार्यदल गठन गरेको हो ।

राखेप कर्मचारीको माग 'बाधा फुकाउ'- खेलकुद - कान्तिपुर समाचार

कार्यदलको सदस्यमा परिषद्का सदस्य प्रकास कुमार कुसारी, वरिष्ठ खेलकुद पत्रकार निरञ्जन राजवंशी, खेलकुद विकास विभागका प्रशासकीय अधिकृत सरोज कुमार पोख्रेल र सचिवमा प्रशासन विभागका प्रशासकीय अधिकृत भोजानन्द राई रहेका छन् । राखेपले कार्यदललाई सत्य तथ्य छानविन गरि १५ दिनभित्र परिषद् समक्ष प्रतिवेदन बुझाउन निर्देशन दिएको छ ।

जे भए पनि, नेपाली क्रिकेटमा खेल मिलेमतो जस्तो अपराध भित्रिनु ठूलो रोग हो । यसमा संलग्नलाई खोजेर कार्वाही नगर्ने हो भने यसले नेपालको समग्र क्रिकेट अनुहारलाई नै कालो पोत्ने छ । यसतर्फ नियमनकारी निकायले निर्ममतापूर्वक डण्डा चलाउनु आवश्यक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?