दलको अन्धभक्तलाई राष्ट्रपति र सभामुख बनाउनु हुन्न : दमननाथ ढुंगाना

लोकपथ
35
Shares

काठमाडौं । सत्तारुढ दलका नेताहरुले राष्ट्रप्रमुखका रुपमा रहने राष्ट्रपति र व्यवस्थापकीय प्रमुखमा रहने सभामुखमा कसलाई ल्याउने भन्ने टुंग्गो गर्न नसकेका बेला दलका अन्धभक्तलाई उक्त जिम्मेवारीमा लैजान नहुने सुझाव आउन थालेको छ ।

यी पदमा लैजाने व्यक्तिका बारेमा निर्णय लिनुपूर्व राजनीतिक दलहरुले आँखा खोल्नुपर्नेमा नागरिक क्षेत्रबाट सुझाव आएको हो ।

पूर्वसमामुख एवं नागरिक समाजका अगुवा दमननाथ ढुंगानाले राष्ट्रपति र सभामुख को हुने भन्नेमा राजनीतिक दलहरूले आजै आँखा खोल्नु राम्रो हुने बताएका हुन् । आफ्नो पार्टीप्रति अन्धो तथा कोरा ब्यक्ति ती पदको उद्देश्य अनुरुप नहुनेमा ढुंगानाले सचेत पनि तुल्याएका छन् ।

२०४६ सालको परिवर्तनपछि पहिलो सभामुख बनेका ढुंगानाले राष्ट्रपति र सभामुख अन्तरदलीय सहमतिकै आधारमा निर्धारण गर्न पनि सुझाएका हुन् ।

ढुंगानाले भने, ‘राष्ट्रपति र सभामुख को हुने भन्नेबारे राजनीतिक दलहरूले आजै आँखा खोल्नु राम्रो हुन्छ । आफ्नो पार्टीप्रति अन्धो तथा कोरा ब्यक्ति पदीय उद्देश्यमुलक हुँदैनन् । राष्ट्रपति र सभामुख अन्तरदलीय सहमतिकै आधारमा निर्धारण हुनुपर्छ ।’

यता, दलहरुमा भने कांग्रेस नेतृत्वको पाँच दलीय गठबन्धन तोडेर एमाले नेतृत्वमा बनेको सात दलीय गठबन्धनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई प्रधानमन्त्री बनाउँदै राष्ट्रपति र सभामुखको पद भने एमालेको भाग लगाइसकेको छ ।

एमालेबाट पूर्वसभामुख सुवास नेम्बाङ र पूर्वमन्त्री अष्टलक्ष्मी शाक्य राष्ट्रपति पदका प्रबल दावेदार रहँदा सभामुखमा पनि सोही दलका पृथ्वीसुब्बा गुरुङ र छबिलाल विश्वकर्मा दौडमा रहेका छन् ।

पूर्वसभामुख ढुंगानाले पूर्वसभामुख अग्नि सापकोटा र वर्तमान राष्ट्रपति विद्या भण्डारीले पार्टीको स्वार्थमा मात्र निर्णय लिएको भन्ने टिप्पणी भइरहेको सन्दर्भलाई इग्गित गर्दै दलहरुलाई दलीय अन्धभक्तभन्दा उक्तपदको गरिमा जोगाउने खालको व्यक्तिलाई चुन्न सुझाव दिएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?