मतदातालाई धन्यवाद दिन कांग्रेसले पत्रकार सम्मेलन गर्दै

लोकपथ
403
Shares

काठमाडौं । नेपाली कांग्रेसलेसमसामयिक राजनीतिलगायत विषयमा धारणा सार्वजनिक गर्न आज पत्रकार सम्मेलन गर्दैछ ।

बुधबार अपराह्न ३ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा प्रवक्ता डा. प्रकाशशरण महतले पत्रकार सम्मेलन गरी पार्टीको धारणा सार्वजनिक गर्न लागेका हुन् ।

प्रतिनिधि सभामा सबैभन्दा ठूलो दल बनेर पनि आफ्नै कारण सत्ताबाट बिमुख हुनुपरेपछि कांग्रेस नेताहरुमा सन्नाटा छाइरहेको थियो । पार्टी सभापति शेरबहादुर देउवा प्रधानमन्त्रीबाट हटेको दश दिनपछि बल्ल कांग्रेसले पत्रकार सम्मेलन गर्न लागेको हो ।

गत मंसिर ४ मा नेकपा माओवादी केन्द्रसमेतको पाँच दलीय गठबन्धन बनाएर चुनावमा गएको कांग्रेस आगामी कार्यकालमा पहिलो प्रधानमन्त्री को बन्ने भन्ने विवादमा सत्ता नै गुमाउने अवस्थामा पुगेको थियो ।

देउवाले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पहिलो प्रधानमन्त्री नस्वीकार्दा एमालेसँग मिलेर प्रचण्डले सरकार बनाइसकेका छन् । योसँगै कांग्रेस केन्द्रदेखि प्रदेशसम्मको सरकारबाट एकसाथ बाहिरिएको छ ।

सभापति देउवा र उनको समूहको कमजोरीकै कारण पार्टी सरकारका सबै तहबाट बाहिरिनु परेको भन्दै कांग्रेस नेताहरुले आलोचना गरिरहेका बेला प्रवक्ता महतले धारणा राख्न लागेका हुन् ।

पत्रकार सम्मेलनका क्रममा कांग्रेसले निर्वाचनमा सहभागि मतदाता र खटिने सबैमा धन्यवाद दिने बताइएको छ । स्थानीयदेखि प्रदेश र संघको चुनाव सफलतापूर्वक गराएका देउवाले मतदातादेखि निर्वाचन आयोगसम्मलाई धन्यवादसम्म नदिएर गुपचूप बालुवाटार छाडेकामा उनको आलोचनासमेत भइरहेको छ ।

हालै सम्पन्न निर्वाचनमा ठूलो दल भएर पनि सरकारबाट बाहिरिनु परेको सन्दर्भ र पाँचदलीय गठबन्धन जोगाउन नसकेकाबारेमा छलफल गर्न कांग्रेसले पुस २२ गते केन्द्रीय समिति बैठक गर्दैछ ।

प्रत्यक्षतर्फ १६५ निर्वाचन क्षेत्र रहेको प्रतिनिधि सभामा कांग्रेसले ९१ सिटमा उम्मेदवारी दिँदा ५७ जना निर्वाचित भएका थिए भने समानुपातिकतर्फ ३२ सिट पाउँदा ८९ जना संसदमा पुगेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?