काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राहदानी र लाइसेन्समा अहिले जस्तै लाइन देखिए कारबाही गर्ने चेतावनी आएलगत्तै राहदानी विभागले भने सेवालिनका लागि कार्यालयमा नआउन सूचना जारी गरेको छ ।
सिंहदरबारमा सबै सचिवलाई एकमूष्ठ निर्देशन दिँदै प्रधानमन्त्री दाहालले राहदानी र लाइसेन्स लिन जानेहरुले पाएको सास्ती नरोकिए सचिवहरुलाई नै कार्वाही गर्ने चेतावनी दिएका थिए । तर, यता राहदानी विभागले भने मंगलबार नै एक सूचना जारी गर्दै विभागको सिस्टममा समस्या आएका कारण राहदानी वितरण अवरुद्ध भएको जनाएको हो ।
सूचनामा विभागले समस्या समाधानका लागि निरन्तर कार्य गरिरहेको र पूर्ण रूपमा सुचालु हुन केही समय लाग्ने उल्लेख गरेको छ । विभागले अर्को सूचना जारी नहुँदासम्म सेवा लिनका लागि विभागमा उपस्थित नहुन नै भनेको छ ।
नियमित सेवाका क्रममा राहदानीका लागि समय लिएका सेवाग्राहीलाई भने बायोमेट्रिक दिनका लागि आउन पनि विभागले भनेको छ ।
सेवा प्रवाहका नाममा लामो समयदेखि अस्तव्यस्त देखिएको विभागले बारम्बार ‘सर्भर लोडमा समस्या’ भन्दै सेवाग्राहीलाई महिनौंदेखि अलपत्र पार्दै आएको थियो ।
मंगलबार नै प्रधानमन्त्री प्रचण्डले मन्त्रालयका सचिवहरुलाई दिएको ३० बुँदे निर्देशनमा जनसरोकार र सार्वजनिक सेवा चुस्त बनाउन भनेका थिए । त्यसक्रममा उनले सार्वजनिक सेवामा लापरवाही भए सह्य नहुने भन्दै त्यसका लागि सम्बन्धित कार्यालयका प्रमुखलाई नै जिम्मेवार बनाइने चेतावनी दिएका थिए ।
प्रधानमन्त्रीले दिएको निर्देशन कार्यान्वयनको आश गरेका सेवाग्राही भने विभागको यो सूचनाले झन् निराश भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया