प्रदेश १ सरकार गठन : दलहरुबीच छुट्टाछुट्टै छलफल

लोकपथ
130
Shares

विराटनगर । प्रदेश १ मा सरकार गठनको विषयमा दलहरुबीच छुट्टाछुट्टै छलफल भइरहेको छ । नेकपा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले दलहरुबीच छुट्टाछुट्टै छलफल भइरहेको जानकारी दिए ।

उनले केन्द्रको गठबन्धन गरेका दलहरुकै नेतृत्वमा सरकार बन्ने भएको कारण उनीहरुसँग छलफल भइरहेको बताएका हुन् । ‘हामीले माओवादी, राप्रपा, जसपासँग छुट्टा–छुट्टै छलफल गरिरहेका छौं,’ कार्कीले भने, ‘संयुक्त छलफल भने भएको छैन ।’

यता, नेकपा (माओवादी केन्द्र) संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले छुट्टाछुट्टै अनौपचारिक छलफल भएपनि संयुक्त ढंगले छलफल सुरु नभएको बताए ।

‘अनौपचारिक ढंगल छलफल हुँदैछ, सत्ता गठबन्धन दलको संयुक्त छलफल भएको छैन,’ आङ्बोले भने, ‘प्रदेश १ कसको नेतृत्वमा बन्छ भन्ने विषयको टुंगो लागेपछि छलफल घनिभूत हुन्छ, हामी निर्धारित समयसीमा भित्रै सरकार गठनका लागि प्रदेश प्रमुखसँग जान्छौं ।’

प्रदेश १ मा सत्ता गठबन्धन दल नेकपा (एमाले)सँग ४० जना सांसद छन् । यस्तै माओवादी केन्द्रको १३, राप्रपाको ६ र जसपाको १ जना सांसद गरी ६० जना रहेका छन् । प्रदेश १ सरकार गठनका लागि प्रदेश प्रमुख पर्शुराम खापुङले आगामी पुस २४ गते साँझ ५ बजेसम्मका लागि समयसीमा दिएका छन् ।

उक्त समयमा संविधानको धारा १६८ को उपधारा (२) बमोजिम दुई वा दुईभन्दा बढी दलहरु मिलेर बहुमत पुर्याउँदै मुख्यमन्त्रीको नाम प्रदेश प्रमुखसमक्ष सिफारिस गर्नुपर्नेछ ।

एमालेको नेतृत्वमा रहेको सत्ता गठबन्धनबाटै प्रदेश १ मा पनि सरकार बन्ने स्पष्ट छ । तर, एमाले, माओवादीमध्ये कसले मुख्यमन्त्री लिने भन्ने विषय भने अझै टुंगिएको छैन ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?