गुरुकुल शिक्षाले मानिसलाई अनुशासित बनाउँछ : नेता कोइराला

लोकपथ
39
Shares

मोरङ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा.शेखर कोइरालाले गुरुकुल शिक्षाले मानिसलाई अनुशासित बनाउने बताएका छन् ।

विराटनगर–१२ स्थित लक्ष्मीनारायण मन्दिरमा आजदेखि सञ्चालित संस्कृत भाषा र स्वाध्याय वर्ग प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै उनले गुरुकुल शिक्षाले मानिसलाई ज्ञानसँगै अनुशासित हुन र गृहस्थ जीवन कसरी चलाउने भनेर ज्ञानसमेत दिने विचार राखेका हुन् ।

प्रतिनिधिसभा सदस्य कोइरालाले गुरुकुल शिक्षाको महत्व राज्यले बुझ्न नसकेको बताए । उनले नेपाली भाषाको पनि मातृभाषाका रूपमा रहेको संस्कृत शिक्षालाई उच्च महत्वका साथ राज्यले हेर्नुपर्नेमा जोड दिए ।

प्रदेशसभा सदस्य भीम पराजुलीले आधुनिक शिक्षाका नाममा संस्कृत भाषा मास्ने काम भएकोमा चिन्ता व्यक्त गर्दै संस्कृत भाषालाई माध्यमिक तहसम्म अध्ययन गराउन पहल गर्ने बताए । विराटनगर महानगरपालिका प्रमुख नागेश कोइरालाले संस्कृत भाषाको संरक्षण र सम्वर्द्धनमा तीनै तहको सरकारको सहकार्य आवश्यक रहेको धारणा राखे ।

प्रा.माधव अधिकारी, भारतीय शिक्षण मण्डलका दीपक कोइराला, संस्कृत भाषाका ज्ञाता डा.गुरुप्रसाद सुवेदी, डा वासुदेव शास्त्रीलगायतले संस्कृत भाषाको संरक्षण र प्रवर्द्धनमा राज्यको दायित्व भएको विचार राखे ।

संस्कृत भाषासम्बन्धी तालिम पुस २१ गतेसम्म सञ्चालन हुने लक्ष्मीनारायण मन्दिरका पीठाधीश अच्युत प्रपन्नाचार्यले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?