वामपन्थी शक्तिहरुका बीचमा एकता गर्नुपर्नेमा एकीकृत समाजवादीको जोड

लोकपथ
65
Shares

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का पोलिटब्युरो सदस्यहरुले वामपन्थी शक्तिहरुका बीचमा एकता गर्नुपर्नेमा जोड दिएका छन् ।सोमवारबाट शुरु भएको पार्टीको पोलिटब्युरो बैठकमा आफ्नो धारणा राख्दै पोलिटब्युरो सदस्यहरुले वामपन्थी शक्तिहरुका बीचमा एकता गर्नुपर्नेमा जोड दिएका हुन् ।

बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले बैठकमा बोल्ने सदस्यहरुले वामपन्थीहरुलाई एकतावद्ध बनाउन पहल गर्नुपर्ने धारणा राखेका बताए । उनले वामपन्थीहरुको एकताको सम्बन्धमा सबैको एकमत रहेको बताएका हुन् । त्यस्तै संगठन सुदृढीकरण गर्न आगामी पाँच वर्ष पार्टी निर्माणको अभियानमा लाग्नुपर्नेमा पनि सम्पूर्ण सदस्यहरुको एकमत रहेको उनले उल्लेख गरे । बैठकमा करिब ३० जना सदस्यले आफ्नो धारणा राखेको प्रवक्ता खतिवडाले जानकारी दिएका छन् ।

उहाँले वर्तमान सरकारमा जाने सन्दर्भमा औपचारिक प्रस्ताव नै नआएको भन्दै यस सम्बन्धमा छलफल नभएको बताए । बैठकमा सरकारलाई हेर्ने दृष्टिकोणको सम्बन्धमा भने छलफल भएको उनको भनाइ छ । प्रवक्ता खतिवडाले विगतमा सँगै गठबन्धन गरेका नेता पुष्पकमल दाहाल प्रधानमन्त्री भएसँगै आफूहरुलाई समर्थन गर्ने कि नगर्ने भन्ने सम्बन्धमा धर्मसंकट परेको बताए ।

व्यक्तिगत रुपमा प्रधानमन्त्री दाहालप्रति सद्भाव भएपनि राजनीतिमा व्यक्तिगत सद्भावले काम नगर्ने स्पष्ट पारे । पार्टीको नीतिलाई स्पष्ट पार्नका लागि पोलिटब्यूरो बैठक राखिएको भन्दै उनले परिपक्व निर्णय गरिने बताएका छन् । सोमवारका लागि सकिएको बैठक अब भोलि मंगलवार बिहान ११ बजे पुनः बस्ने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?