काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सरकारको परराष्ट्रनीति एउटै हुन नसकेको गुनासो गरेका छन् ।
सोमवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले अन्य मुलुकमा कुनैपनि पार्टीको सरकार बनेपनि एउटै परराष्ट्रनीति भएको तर नेपालमा भने एउटै परराष्ट्रनीति हुन नसकेको बताए । उनले नेपालमा सत्ता परिवर्तनसँगै परराष्ट्रनीतिहरु पनि परिवर्तन हुने गरेको भन्दै जुनकुनै सरकार आएपनि एउटै परराष्ट्र नीति हुनुपर्नेमा जोड दिए ।
अध्यक्ष तिमिल्सिनाले नेपालमा सह–सचिव, सचिवहरु नै राजनीतिक दलहरुका मान्छे हुने गरेको र आफ्नो स्वार्थपूर्तिका लागि नीति, नियम बनाउँदा प्रणाली बिग्रिएको बताए । अध्यक्ष तिमिल्सिनाले राष्ट्रिय सभाले पठाएका ५ वटा विधेयक अहिले शुन्यमा पुगेको भन्दै दुःख व्यक्त गरेका छन् । उनले आगामी दिनमा मन्त्रीमण्डलको विस्तार भइसकेपछि सम्बन्धित मन्त्रालयसँग पहिलेका विधेयकहरुलाई नै अघि बढाउन आग्रह गर्ने बताए ।
उनले आफू अध्यक्ष भइसकेपछिको दोस्रो वर्षदेखिकै विधेयकहरु अहिलेसम्म प्रतिनिधि सभाबाट पास हुन नसकेको भन्दै संसदले लापरबाही गरेर अघि बढे संसदप्रतिको विश्वास गुम्ने बताए । अध्यक्ष तिमिल्सिनाले सबै पदाधिकारीहरुले निष्पक्ष भएर काम गरेको खण्डमा राजनीतिक नियुक्तिको दबाब कम हुँदै जाने जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया