काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का उपमहासचिव गंगालाल तुलाधरले नेकपा (एमाले) सँगको पार्टी एकताको कुरा हल्ला मात्रै भएको बताएका छन् । आइतबार जारी स्थायी कमिटी बैठकबारे जानकारी दिँदै उनले एमालेसँगको पार्टी एकता र अध्यक्ष माधवकुमार नेपाललाई राष्ट्रपतिको प्रस्ताव आएको विषयमा सत्यता नभएको बताएका हुन् ।
उपमहासचिव तुलाधरले नेकपा (एमाले) बाट यति ठूलो प्रस्ताव आउने विषय पत्याउन नसकिने बताए । ‘यो कुराले अहिलेसम्म हाम्रो बैठकमा प्रवेश पाएको छैन । कहाँबाट, कसरी आयो हावामा आयो, हावामा नै गयो जस्तो लाग्छ’ उनले भने, ‘नेकपा एमालेका तर्फबाट फेरि माधवकुमार नेपाल, एकीकृत समाजवादीको अध्यक्षलाई यस्तो ठूलो प्रस्ताव यति छिट्टै, सजिलोसँग राख्लान् भन्ने मलाई लाग्दैन र गरेको हो भन्ने पनि मलाइ लाग्दैन ।’
उनले बाहिर आएका कुराहरु एकीकृत समाजवादीका नेता कार्यकर्तालाई भ्रममा राख्ने कोशिसमात्र भएको बताए । पार्टीको स्थायी समिति बैठकमा वर्तमान राजनीति, वर्तमान गठबन्धनलाई कसरी हेर्ने, सरकारमा जाने, या नजाने, पार्टी एकताका बारेमा स्थायी समिति सदस्यहरुलाई धारणा राखिरहेका छन् ।
शनिबारदेखि सुरु भएको बैठक लगातार दुईदिनसम्म चलिरहेको छ । बैठकमा अहिलेसम्म ३० जनाले धारणा राखेको जानकारी दिँदै तुलाधरले धेरैको मत सरकारलाई सर्मथन गर्ने तर सरकारमा जान नहुने भन्ने खालको रहेको बताए । एकीकृत समाजवादीको स्थायी समितिमा ५२ जना सदस्य रहेका छन् । सबैले आफ्नो धारणा राखिसकेपछि बैठक सकिने छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया