सुदूरपश्चिममा माओवादी संसदीय दलको नेतामा भट्ट चयन

लोकपथ
21
Shares

धनगढी । नेकपा (माओवादी केन्द्र) सुदूरपश्चिम प्रदेश संसदीय दलको नेतामा खगराज भट्ट सर्वसम्मत चयन भएका छन् । आइतबार बिहान प्रदेश संसदीय दलको कार्यालयमा बसेको बैठकले पार्टीका स्थायी कमिटी सदस्य तथा प्रदेश इन्चार्ज भट्टलाई सर्वसम्मत चयन गरेको हो ।

यसअघि शनिबार बसेको संसदीय दलको बैठकमा नेताका लागि दाबी गरेका केन्द्रीय सदस्य समेत रहेका ओमबिक्रम भाट र भट्टबीच सहमति हुन सकेको थिएन । सुदूरपश्चिम प्रदेश अध्यक्ष हरिराम चौधरी (उत्सव) ले भट्ट सर्वसम्मत रुपमा दलको नेतामा चयन भएको लोकपथलाई जानकारी दिए ।

‘आज बिहान बसेको संसदीय दलको बैठकले दलको नेतामा कमरेड खगराज भट्टलाई सर्वसम्मत रुपले चयन गरेको छ । अर्का दाबेदार ओमबिक्रम भाटले पनि समर्थन दिएपछि उहाँ सर्वसम्मत रुपमा दलको नेता चयन हुनुभएको हो,’ उनले भने । माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश पदाधिकारीको बैठकले पनि दलको नेतामा भट्टलाई नै सर्वसम्मत चयन गर्न उपयुक्त हुने सुझाव दिएको थियो ।

शनिबार बसेको दलको बैठक बसे पनि दुवै नेताले दाबी नछाड्दा सहमति हुन सकेको थिएन । अन्तिम समयमा भने भट्टलाई उनले समर्थन गरेका हुन् । दलको नेतामा चयन भएका भट्ट डडेल्धुराको प्रदेशसभा (क) बाट निर्वाचित भएका थिए । नेपाली कांग्रेसको नेतृत्वमा रहेको तत्कालीन सत्तारुढ गठबन्धनका साझा उम्मेदवार बनेका उनलाई भावी मुख्यमन्त्रीका रुपमा अघि सारिएको थियो ।

एमाले नेतृत्वमा बनेको नयाँ गठबन्धनमा पनि सुदूरपश्चिम माओवादीको भागमा पर्ने सम्भावना छ । माओवादीको भागमा परेको अवस्थामा भट्ट नै मुख्यमन्त्री बन्नेछन् । सदूरपश्चिम प्रदेशमा माओवादीका प्रत्यक्षतर्फ ८ जना र समानुपातिकबाट ३ जना गरी ११ जना निर्वाचित भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?