छोटो लुगा लगाएर हिँड्नु फेसनेवल हुनु होइन, डिजाइनर शिक्षाले दिइन् जाडो महिनाको फेसन टिप्स

फेसनलाई लिएर हरेक व्यक्तिको आआफ्नै परिभाषा छ । कसैले स्टाइललाई फेसन मान्छन् कसैले ट्रेन्डलाई । यी सबै परिभाषामा पाइने एउटा ‘कमन’ चीज भनेको चाहिँ ‘कम्फर्ट’ नै हो । प्राय डिजाइनरले भन्छन् नि, ‘लुगा जस्तो सुकै होस् लगाउनेले ‘कम्फर्टेबल’ फिल गर्नुप-यो ।’

शिक्षा पनि यही भन्छिन् । शिक्षा श्रेष्ठ विगत १२ वर्षदेखि फेसन क्षेत्रमा कार्यरत छिन् । नेवारी परिवारमा जन्मिएकाले उनलाई शुरुमा यस क्षेत्रमा लाग्न त्यति सहज नभएको उनी बताउँछिन् । यद्यपी, उनले परिवारलाई ‘कन्भिन्स’ गरिन् । भारतमा ५ वर्ष ‘फेसन डिजाइनिङ’ अध्ययन गरेर अन्ततः आफ्नो सपना पूरा गरेरै छोडिन् । अहिले उनी ‘नेप्लीज फेसन होम’ का लागि कपडा डिजाइन गर्छिन् । आफ्नो चरित्र, बानीव्यवहार अनुसारको फेसन गर्नुपर्छ भन्ने शिक्षा चाहन्छिन् ‘फेसन धनी वर्गका मान्छेमा मात्रै सीमित नहोस् । फेसनेवल हुन धनी नै हुनुपर्छ भन्ने मानसिकता हटोस् ।’

फेसन के हो ? नेपालमा फेशन र फेशनसँगै आएका राम्रा र नराम्रा संस्कृति, फेसनको महत्व र फेशनमा सुधार्नु पर्ने पक्ष जस्ता विभिन्न विषयमा केन्द्रित रहेर लोकपथकर्मी प्रेरणा तिमल्सिनाले डिजाइनर शिक्षा श्रेष्ठसँग गरेको कुराकानी यहाँ प्रस्तुत गरिएको छ ः

सञ्चै हुनुहुन्छ ? 
सञ्चै छु । 

चिसो मौसम शुरु भयो । फेशनमा कतिको प्रभाव पार्छ ? 

फेसनकै हिसाबले हेर्ने हो भने गर्मीमा भन्दा जाडोमा झनै फेसनेवल हुन सकिन्छ । म आफैलाई पनि गर्मीमा भन्दा जाडोमा फेसन गर्न मज्जा लाग्छ । 

बिहान उठेदेखि बेलुका सुतुन्जेल तपाईंको रुटिन केकस्तो छ ? 

म त बिहान उठदेखि नै फेसनसँग हुन्छु । मेरो मर्निङको फेशन छुट्टै हुन्छ । दिनमा मेरो विभिन्न कामहरु हुन्छन् । म मेरो काम अनुसारको गेटअप गर्छु । मिटिङ, अन्तर्वाताहरु छन् भने त्यही अनुसारको डे«स अप गर्छु । साथीहरुसँग भेटघाट छ भने त्यही अनुसारको गेटअप गर्छु । 

एक दिनमा धेरै फेशनलाई फलो गर्दा दिनमा कति पल्ट डे«स चेन्ज गर्नुहुन्छ ?

दिनमा दुई तीन पटक त हुन्छ मेरो ।  दिनदिनै धेरै नै कामहरु हुन्छन् । साथी, परिवार, आफन्तहरुलाई पनि त्यत्तिकै महत्व दिइरहेको हुन्छु । मिटिङमा जुन पर्सनालिटी हुन्छ त्यो परिवारसँग हुँदा देखाउन मिल्दैन । देखाउँदिन  । वास्तवमा म फेशनमा धेरै नै अपडेट छु । 

१२ वर्ष देखि तपाई फेसन वल्र्डमा हुनुहुन्छ, फेशन भनेको के रहेछ त ?

फेशन भनेको मनोविज्ञानसँग सम्बन्धित हुन्छ । एउटा व्यक्तिको मनोवृत्तिलाई फेशनले प्रतिनिधित्व गर्छ । तपाई कसरी बोल्नु हुन्छ, तपाईको व्यवहार र सोचलाई बिना शब्द बयान गर्ने तत्व हो, फेसन । फेसन भनेको छोटो लुगा लगाएर, नचाहिँदो ‘शो अफ’ गर्नु मात्र होइन । 

अहिलेको पुस्ताले फेशनको बारेमा राम्रोसँग बुझ्दै जानु भएको छ । फेशन भनेको आकर्षण मात्र नभएर आफूलाई के मा सजिलो फिल हुन्छ, त्यो फेशन हो । केही समय अघिसम्म पनि मान्छे देखासिकी गरेर लाउनेमा मात्रै ध्यान दिन्थे । तर पछिल्लो समय फेशन निकै सभ्य बन्दै गएको छ । मान्छेहरुले ‘कम्फर्ट’लाई रोज्न थाल्नुभएको छ ।

नेपालको पछिल्लो समयको फेशनलाई तपाईले कसरी नियाल्नु भएको छ ? 

नेपालको फेशनको कुरा गर्दा मैले दुई वटा परिवर्तन देखेको छु  । बीचमा पश्चिमी फेशन गर्नेहरुको होडबाजी जस्तै चलेको थियो । आफूलाई कस्तो कपडा सजिलो हुन्छ वा सुहाउँछ भन्दा पनि अर्कोले के लगायो भन्नेमा मानिसहरुको ध्यान बढी थियो । तर त्यो प्रवृत्ति कम हुँदै गएको छ । अहिले प्रायजसोले परिस्थिति अनुसार आफूलाई सजिलो हुने खालको फेशन फलो गर्नुभएको छ । पहिलेको भन्दा अहिले फेशन राम्रो भएको छ  । देख्दा खुसी लाग्छ । 

तपाईको फेशन करिअरको शुरुवाती दिनहरु कस्तो थियो ?

शुरुवाती दिनहरु अलि गाह्रो नै थियो । नेवारी परिवारको भएका कारण  पनि अलि बढी रुढिवादी सोच थियो । शुरुवातमा धेरै कठिन थियो । सफल हुनको लागि परिवारको सर्पोट त चाहियो । मेरो आमाले मलाई सर्पोट गर्नुभएको थियो ।  फेशनलाई नयाँ तरिकाले परिभाषित गर्न सक्ने हिम्मत आज म मा छ । त्यो उहाँकै देन हो ।

फेसनको नकारात्मक पक्षहरु के के रहेछन् त ? 

मैले सुनेको छु डिजाइनरहरुले धेरै पैसा लिनुहुन्छ । त्यसैले महङ्गो हुन्छ भनेर बुटिकमा मान्छेहरु छिर्नै डराइरहेको अवस्था छ । यो सोच नकरात्मक हो र म यो सोचलाई बदल्न चाहन्छु । 
फेसन भनेको अनुशासन पनि हो । डिजाइनरले जसरी डिजाइन गर्नुहुन्छ बजारमा त्यही नै चल्छ । डिजाइनर राम्रो अनुशासनमा बसेर काम गर्यो भने त बजारमा राम्रो फेसन चल्छ नि । 

तपाई धेरैको फेशन आयडल हुनुहुन्छ तपाईंको फेशन आइडल चाहिँ को हो ? 

मेरो फेशन आइडल त मेरो ममी नै हो । किनकी उहाँले जे चिजलाई पनि राम्रो गरेर सुहाउने किसिमले प्रयोग गर्नुहुन्थ्यो । मलाई छोटो कपडा लगाउन मन लाग्दा पनि उहाँले कुन समयमा कुन ठाँउमा त्यो उचित हुन्छ भनेर सिकाउनु हुन्थ्यो । उहाँ फेसन कन्सियस भएको कारण नै मलाई औधी मनपर्छ । 

नाम तोकेर त नभनौं । मैले नेपालमा पढेको होइन । त्यही भएर मलाई नेपालको राम्रो डिजाइनर थाहा छैन । तर नमुना कलेजको ज्ञान शोभा तुलाधरलाई म औधी मान्छु । 

अब डिजाइनर टिप्स पनि लिऔँ, होचोले अग्लो देखिन के गर्ने र अग्लोले कस्तो किसिमको लुगाा लगाउने ?

राम्रो देखिने नदेखिने यो सबै आँखाका प्रभावहरु हुन् । हामी डिजाइनरहरु पनि अग्लोलाई होचो र होचोलाई अग्लो बनाउने त होइन । तर कुन रङ प्रयोग गर्दा मान्छेको आँखामा बस्छ भन्ने हो । अग्लो मान्छेहरु अलि भाग्यमानी हो । उहाँहरुले जे पनि प्रयोग गर्न पाउने हुनुभयो । उहाँहरुले दुई÷तीन ओटा रङ प्रयोग गर्दा राम्रो देखिन्छ । हाइट अलि कम हुनेहरुले दुइवटा भन्दा धरै रङहरु प्रयोग गर्नु हुँदैन । सकेसम्म एउटै रङ्गको कपडा लगाउने । ‘भी’ गला भएको लुगा लगाउँदा घाँटी लामो देखिन्छ जसले होंचो मान्छेलाई केही अग्लो देखाउँछ । 

मोटो र पातलो मान्छेहरुले कस्तो रङ प्रयोग गर्दा ठिक हुन्छ ? 

मोटोहरुले अलि मसिनो, मधुरो प्रिन्ट जसले गर्दा सेप अप देखियोस् । गाढा रङहरुको प्रयोगले अलि पातलो देखाउँछ । दुब्लो मान्छेहरुले ठूलो मोटो प्रिन्ट लगाउँदा राम्रो हुन्छ । 

भावीे योजनाहरु के के छन् ? 

अहिले नेप्लिज फेशन होमको अफिसियल डिजाइनर का रुपमा कार्यरत छु । भविष्यमा सबैलाई फेसनेवल बनाउने सोच छ । फेसन गर्न सबैलाई रमाइलो लागोस् भन्ने चाहन्छु र यसैका लागि काम गर्नेछु । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?