पार्टी अध्यक्षलाई राष्ट्रपति बन्नुस् भन्ने प्रस्ताव आएको छैन : उपमहासचिव खतिवडा

लोकपथ
42
Shares

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का उपमहासचिव जगन्नाथ खतिवडाले पार्टी अध्यक्ष माधवकुमार नेपालसँग राष्ट्रपति बन्नुस् भन्ने प्रस्ताव कुनै पार्टीले नगरेको स्पष्ट पारेका छन् ।

शनिवार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको पार्टीको स्थायी कमिटीको बैठकपछि कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले पार्टी अध्यक्षसँग नेकपा एमालेले आधिकारीक रुपमा पार्टी एकता र राष्ट्रपति बन्ने प्रस्ताव नगरेको बताए ।

उनले पार्टी विलय वा एकीकरण गर्ने कुनै काम नगरेको र रुची पनि नरहेको स्पष्ट पारे । उपमहासचिव खतिवडाले पार्टीको सबैभन्दा धेरै रुची वाम एकतामा रहेको र अहिले पार्टी सुदृढीकरणमा जोड दिएको बताए ।

उनले पार्टी एकता हुने भन्ने हल्ला निराधार रहेको पनि बताएका छन् । उनले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पहिलो पटक प्रधानमन्त्री बन्न नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाललाई नदिएपछि गठबन्धनले अर्कै मोड लिएको बताए ।

उपमहासचिव खतिवडाले सरकारमा सहभागी बन्ने वा नबन्ने भन्नेबारेमा पार्टीको पोलिटब्यूरोको बैठकसम्म छलफल पुग्ने बताए । स्थायी कमिटीको बैठक अहिले पनि पार्टी केन्द्रीय कार्यालयमा जारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?