साताको शेयर बजार : नेप्से र कारोबार रकम दुबैमा वृद्धि

लोकपथ
26
Shares

काठमाडौं । शेयर लगानीकर्ताहरुको लागि यो साता सुखद देखिएको छ । यसअघि लगातार घट्दै आएको नेप्से सूचक तथा कारोबार रकम यो साता उच्चरुपमा बढेको छ ।

सरकार परिवर्तनको असर यो साता नेप्सेमा पनि देखिएको छ । अघिल्लो सरकारको पालामा लगातार घट्दै आएको नेप्से माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल (प्रचण्ड) ले सरकारको नेतृत्व सम्हालेसँगै शेयर बजार पनि उकालो लागेको छ ।

जसअनुसार लगातार घट्दै आएको नेप्से यो साता दुई हजार २९ दशमलव शून्य तीन अंकमा चढ्न सफल भएको छ । यसैगरी ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि तीन सय ९१ दशमलव ३० अंकमा चढ्न सफल भएको छ ।

नेप्से बढेसँगै कारोबार रकम पनि उच्चरुपमा वृद्धि भएको छ । सातामा दुुई सय ६१ वटा कम्पनीहरुको एक लाख ८७ हजार दुई सय २४ पटकको कारोबारमा तीन करोड २२ लाख ३७ हजार छ सय ३० कित्ता शेयर खरिद बिक्री भएका छन् ।

जसबाट कुल कारोबार रकम १० अर्ब ९९ करोड ५३ लाख ३९ हजार नौ सय २७ रुपैयाँ पुगेको छ । यो कारोबार रकम गत साताको तुलनामा झण्डै छ अर्ब रुपैयाँले बढी हो । गत साता भने नेप्सेमा चार अर्ब ९५ करोड ७७ लाख आठ हजार ५० रुपैयाँको शेयर कारोबार भएको थियो । उक्त साता दुुई सय ५७ वटा कम्पनीहरुको एक लाख २४ हजार ३७ पटकको कारोबारमा एक करोड ५० लाख ५२ हजार चार सय ७४ कित्ता शेयर किनबेच हुँदा उक्त परिमाणमा रकम कारोबार भएको थियो ।

यो साता नेप्सेको नियमित कारोबार कक्ष सातामा चार कार्य दिन मात्र खुलेको थियो । जसमध्ये पहिलो दिन सार्वजनिक बिदा परेकाकारण नेप्से बन्द रहेको थियो भने दोस्रो, तेस्रो र पाँचौं दिन नेप्से बढेको थियो । चौंथो दिन भने नेप्से घटेको थियो ।

जसमध्ये दोस्रो दिन ५६ दशमलव ८८ अंकले बढेर १९ सय २४ दशमलव नौ अंकमा पुग्न सफल भएको नेप्से तेस्रो दिन पुन ५९ दशमलव ८७ अंकले बढेर १९ सय ८३ दशमलव ९५ अंकमा चढ्न सफल भएको थियो । चौथो दिन भने ११ दशमलव ८१ अंकले घटेर १९ सय ७२ दशमलव १५ अंकमा खुम्चिएको नेप्से पाँचौ दिन पुन ५६ दशमलव ८८ अंकले बढेर दुई हजार २९ दशमलव शुन्य तीन अंकमा चढ्न सफल भएको थियो ।

यसैगरी सेन्सिटिभ इन्डेक्स पनि दोस्रो दिन आठ दशमलव ३८ अंकले बढेर तीन सय ७५ दशमलव ४५ अंकमा पुग्न सफल भएकोमा तेस्रो दिन पुन १० दशमलव ६० अंकले बढेर तीन सय ८६ दशमलव पाँच अंकमा पुग्न सफल भएको थियो । चौंथो दिन भने चार दशमलव ७२ अंकले घटेर तीन सय ८१ दशमलव ३२ अंकमा खुम्चिएको सेन्सिटिभ इन्डेक्स पाँचौ दिन पुनः नौ दशमलव ९८ अंकले बढेर तीन सय ९१ दशमलव ३० अंकमा चढेकोे थियो ।

यो साता नबिल बैंक, हिमालयन डिष्ट्रिलरी प्राली, शिवम सिमेन्ट आदिको बढी रकम कारोबार भएका छन् भने नेपाल टेलिकम, नेशनल हाईड्रो पावर कम्पनी आदिको बढी संख्यामा सेयर किनबेच भएका छन् । यसैगरी बजार पूँजीकरणका आधारमा भने नेपाल टेलिकम, नबिल बैंक, नेपाल लाईफ इन्स्योरेन्स कम्पनी अगाडि देखिएका छन् ।

यस्तो रह्यो यो साता दैनिक शेयर कारोवार (संख्या र रुपैयाँमा):-

 दिन                        कम्पनी संख्या                     कारोबार संख्या                      कित्ता                         कारोबार रकम 

 पहिलो दिन                   ————————————सार्वजनिक बिदा———————————————-
दोस्रो दिन                             २५०                                    ३८५५३                               ५६५३०५३               २०९७०४९९४१.३५
तेस्रो दिन                              २६१                                    ६३०६७                                १२०२९६०३             ३८८४३९६९९७
चौंथो दिन                             २५७                                    ३९६६०                                ६५३०४१५               २१५३५४७२०७.९१
पाँचौ दिन                             २५७                                    ४५९४४                                ८०२४५५९              २८६०३४५७८१.६८

कुल                                                                            १८७२२४                                ३२२३७६३०              १०९९५३३९९२७.९४
(श्रोत नेपाल स्टक एक्सचेन्ज लिमिटेड)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?