कांग्रेसमा संघदेखि प्रदेशसम्म संस्थापनको बर्चस्व, कोइराला–थापा पक्षले खोल्नै सकेन खाता

लोकपथ
672
Shares

आफ्नै निर्णय क्षमताले केन्द्रदेखि प्रदेशसम्मको सरकारबाट बिमुख बन्न पुगेको नेपाली कांग्रेसले संसदीय दलको नेता भने भटाभट चुनिरहेको छ । संघदेखि प्रदेशसम्मको संसदीय दलको नेतामा सस्थापन पक्षको एकलौटी देखिएको छ ।

संघीय प्रतिनिधि सभामा पार्टी सभापति शेरबहादुर देउवा नै दलको नेता चुनिँदा प्रदेशतर्फ पनि संस्थापन इतर समूहले खाता खोल्न सकेको छैन । संघमा सभापति देउवालाई चुनौती दिन डा. शेखर कोइराला समूहले महामन्त्री गगन थापालाई मैदानमा उतारे पनि उनले सोचेजति मत पाउन सकेका थिएनन् । थापालाई उक्त समूहकै १०/११ मत नपरेको बताइएको छ ।

उता प्रदेशतर्फ अहिलेसम्म पाँच स्थानमा संसदीय दलको नेता चुनिसकिएको छ । पाँचै स्थानमा संस्थापन पक्षका उम्मदवार नै विजयी बन्दा कोइराला–थापा समूहका उम्मेदवारहरु उपविजेतामा सीमित बनेका हुन् ।

तत्काललाई शासकीय नेतृत्व पाउने सम्भावना नहुँदा पनि कांग्रेसले कर्णलीबाहेक सबै प्रदेशमा निर्वाचनमार्फत् नै नेतृत्व चुनेको हो । सत्तामा नरहे पनि दलको नेता चुनिँदा प्रमुख विपक्षी दलको नेताका हैसियतमा पाइने सेवा सुबिधाले उनीहरुलाई चुनावको मैदानसम्म उतारेको छ । अर्कातिर नेताहरुले चुनावी प्रक्रियालाई पार्टीभित्रको लोकतन्त्रको संज्ञा पनि दिइरहेका छन् ।

सात प्रदेशमध्ये पाँच वटा प्रदेशको संसदीय दलको नेता चयन भइसक्दा सबै प्रदेशमा संस्थापन इतर समूह पाखा लागेको छ । अब लुम्बिनी र सूदुरपश्चिम प्रदेशमा मात्र दलको नेता चुन्न बाँकी रहेको छ ।

प्रदेश १ मा उद्धव थापा, मधेशमा कृष्णप्रसाद यादव, वाग्मती प्रदेशमा बहादुरसिंह लामा, गण्डकीमा सुरेन्द्र पाण्डे र कर्णाली प्रदेशमा जीवनबहादुर शाही प्रदेश संसदीय दलको नेता चुनिएका छन् । थापा र यादव प्रदेश पार्टी सभापति पनि हुन् भने अरु तीन केन्द्रीय नेता ।

प्रदेश १ संसदीय दलको नेतामा कृष्णप्रसाद सिटौलानिकटका उम्मेदवार थापा १८ मत ल्याएर विजयी हुँदा कोइराला समूहका केदार कार्कीले ९ मत पाए । अर्कातिर देउवाकै विश्वास पात्र मानिएका केन्द्रीय सदस्य अमृत अर्याल भने मात्र २ मतमा सीमित भए । पार्टी प्रदेश सभापति बन्दा पनि थापालाई देउवा पक्षले सघाएको थियो । यस पटक पनि देउवा पक्षका सांसदको मत लिएरै उनी नेता चुनिएका हुन् ।

मधेश प्रदेशमा देउवा पक्षका प्रदेश सभापति कृष्णप्रसाद यादव संसदीय दलको नेतामा चुनिँदा नेता बिमलेन्द्र निधिको समर्थन पाएका रामसरोज यादव पराजीत भए । विजयी यादवले १८ मत पाउँदा पराजीत यादव ४ मतमा सीमित भएका थिए । प्रदेश पार्टी सभापतिको निर्वाचनमा पनि देउवा पक्षको उम्मेदवारको विरुद्धमा निधिले आफ्नो उम्मेदवार उठाएका थिए । निधिको उम्मेदवारलाई कोइराला पक्षले पनि सघाएको थियो ।

यता, वाग्मती प्रदेशमा भने दुबै उम्मेदवार देउवा पक्षका नै थिए । केन्द्रीय सदस्य बहादुरसिंह लामा संसदीय दलको नेता चुनिँदा प्रदेश सभापति इन्द्रबहादुर बानियाँ पराजित हुन पुगे । यद्यपि, बानियाँलाई संस्थापन इतर समूहको पनि समर्थन थियो । लामाले २१ मत ल्याउँदा बानियाँले १६ मत पाएका थिए ।

उता, गण्डकी प्रदेशमा भने केन्द्रीय सदस्य सुरेन्द्र पाण्डे संसदीय दलको नेता निर्वाचित हुँदा प्रतिष्पर्धी भोजराज अर्यालले पराजय ब्यहोरे । पाण्डेले १८ मत ल्याउँदा अर्यालले ८ मत पाएका थिए । सभापति देउवाका विश्वासपात्र मानिने पाण्डे मुख्यमन्त्री बन्न भनेरै प्रदेशमा प्रतिष्पर्धा गर्न पुगेका थिए । उनी यसअघि राष्ट्रिय सभा सदस्यसमेत रहिसकेका छन् ।

कर्णाली प्रदेशमा भने जीवनबहादुर शाही बिना प्रतिष्पर्धा दलको नेतामा चुनिएका हुन् । प्रदेशमा बहालवाला मुख्यमन्त्रीसमेत रहेका उनी अघिल्लो कार्यकाल पनि दलको नेता चुनिएका थिए ।

बाँकी रहेको दुई प्रदेशमा पनि सभापति देउवा पक्षकै उम्मेदवार विजयी हुने कांग्रेसभित्रको गणितले देखाउँछ । अरु प्रदेशमा उम्मेदवार उठाएको संस्थापन इतर समूहले मधेश र बाग्मती प्रदेशमा उम्मेदवारसम्म पनि उठाउन सकेन भने कर्णालीमा त सर्वसम्मत नै छाडेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?