प्रधानमन्त्री दाहाललाई बधाई दिन छिमेकीको तँछाडमछाड, कार्यकालभर सघाउलान् ?

लोकपथ
52
Shares

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दुवै छिमेकी देशका समकक्षीले तँछाडमछाड गर्दै बधाई सन्देश दिएका छन् । चीन र भारतका प्रधानमन्त्रीले दाहाललाई बधाईसहित पूरा कार्यकाल सघाउन प्रतिवद्धतासहितको पत्र पठाएका हुन् ।

चीनका प्रधानमन्त्री ली खछ्याङले प्रचण्ड नेतृत्वको सरकारसँग मिलेर काम गर्न इच्छुक रहेको भन्दै दुवै मुलुकका जनताका लागि रणनीतिक साझेदारी कार्यक्रमलाई अघि बढाउने अपेक्षासमेत व्यक्त गरेका छन् ।

लीको उक्त पत्रलाई नेपालस्थित चिनियाँ दूतावासका कार्यवाहक राजदूत वाङ जीनले प्रधानमन्त्री दाहाललाई हस्तान्तरण गरेका हुन् ।

त्यस्तै, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि दाहाललाई बधाई तथा शुभकामना पत्र पठाएका छन् । शुक्रबार प्रधानमन्त्री दाहाललाई भेट्न बालुवाटार पुगेका नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवले मोदीको बधाई नोट हस्तान्तरण गरेका हुन् ।

भेटघाटका क्रममा नेपाल–भारत बीचको सम्बन्धलाई अझै बलियो बनाउने बारेमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

पाँच दलीय गठबन्धनलाई तोड्दै एमालेसहितको सात दलको समर्थनमा गत आइतबार प्रधानमन्त्रीमा नियुक्त भएका माओवादी केन्द्रका अध्यक्षसमेत रहेका दाहाल यतिबेला देशी तथा विदेशी शक्ति केन्द्रहरुबाट शुभकामना लिइरहेका छन् ।

कुनै देशको नवनियुक्त प्रधानमन्त्रीलाई छिमेकी राष्ट्रका समकक्षीले शुभकामना दिनु कुनै नौलो होइन । यद्यपि, नेपालको सत्ता राजनीतिको चलखेलमा भने यी दुई ठूला राष्ट्रको पनि संलग्नता रहने आँकलन गरिन्छ ।

शुभकामना दिन तछाडमछाड गर्ने भारत चीनका नेतृत्वले प्रधानमन्त्री प्रचण्डलाई कार्यकालभरी यसरी नै सहृदयतापूर्वक सघाउलान् कि आफ्नो स्वार्थ पूरा नभएपछि छिर्के दाउ हान्लान् । त्यो चाहिँ समयले देखाउला ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?