कलङ्कित आमा कद्रु !

लोकपथ
1.9k
Shares

शङ्कराचार्य विरचित देव्यपराधक्षमापनस्तोत्रमा भनिएको छ– ‘कुपुत्रो जायेत क्वचिदपि कुमाता न भवति’ अर्थात् पुत्र कुपुत्र हुन सक्छ तर माता कहिल्यै पनि कुमाता हुन सक्दिनन् । सम्भवतः आमाहरू कुनै पनि परिवेशमा आफ्नो सन्तानको कुभलो नचिताउने भएकाले पनि शङ्कराचार्यले त्यस्तो आदर्शको परिकल्पना गरेका होलान् ।

आमाको आदर्श जताततै देख्न सकिन्छ । नौं महिनासम्मको पीडादायी गर्भधारण र त्यसपछिको प्रसव वेदना अनि जन्मेपछिको स्याहार सुसारले नै आमालाई महान बनाएको हो । आमालाई महान बनाएका कथाहरू पनि धर्मग्रन्थमा थुप्रै छन् । तर, महाभारतजस्तो विशाल र आदर्शमय महाकाव्यको बिज नै आमाको कलङ्कित रूपबाट निर्मित छ ।

महाभारतको कथा नैमिषारण्यमा शौनक ऋषिको बाह्र वर्षसम्म चल्ने यज्ञमा रोमहर्षण पुत्र उग्रश्रवा सौती गएपछि थालनी हुन्छ । त्यसो त सबै पुराणहरूको कथा नैमिषारण्यसँग जोडिएको छ । ऋषिमहर्षिहरूको भेटघाट तथा यज्ञअनुष्ठानबारेका विमर्शको केन्द्र नै नैमिषारण्य थियो । उनीहरू भेला भएर पुराणको पारायण गर्ने गर्दथे । महाभारतको कथा पनि त्यस्तै सन्दर्भबाट थालनी भएको हो ।

सौती जनमेजयको सर्पयज्ञमा कृष्णद्वैपायन व्यासले भनेको विचित्र कथा सुनेपछि विभिन्न तीर्थ घुम्दै नैमिषारण्य पुगेका थिए । त्यस क्रममा उनले समन्तपञ्चकको पनि परिभ्रमण गरेका थिए । सौतीका बाबु रोमहर्षण पनि वैशम्पायन जस्तै व्यास गुरुकुलका मेधावी शिष्य थिए र उनी उत्तम पुराण कथावाचक पनि थिए । शौनक ऋषिले रोमहर्षणबाट पनि पौराणिक कथा सुनेका थिए । त्यस्तै प्रकारका रोचक कथा भन्नका लागि शौनकले सौतीलाई आग्रह गरेका थिए । शौनक ऋषिको जन्म भृगुकुलमा भएको थियो ।

महाभारत कथाका चर्चित पात्र अर्जुनका छोरा परीक्षितलाई तक्षक नामको नागले टोक्यो । त्यसैको प्रतिशोध लिन उनका छोरा जनमेजयले सर्पयज्ञको आयोजना गरे । त्यस यज्ञमा लाखौँको सङ्ख्यामा नागको विनाश भयो । एक प्रकारले भन्ने हो भने नागको संहार गरिएको थियो । त्यो सर्प यज्ञमा ‘न हन्यते हन्यमाने शरीरे’ भनेर उपदेश गर्ने वेदान्तवादी व्यास पनि ब्राह्मणका रूपमा उपस्थित थिए । महर्षि भार्गव होता थिए जो च्यवन ऋषिको कुलमा जन्मिएका थिए । कौत्स ऋषि उद्गाता थिए । जैमिनी ऋषि ब्रह्मा थिए अनि पिङ्गल चाहिँ अध्वर्यु थिए । यस्ता तपस्वी ऋषिहरू बसेर नागहरूको विनाश कसरी गराउन सके भन्ने प्रश्न महाभारतमा गरिन्छ भने आमाको कलङ्कित रूप अगाडि आउँछ ।

नागहरूलाई आमा कद्रुको श्राप परेको थियो । महाभारत कथाअनुसार विनता र कद्रु दुबै दक्षप्रजापतिकी छोरी थिए । उनीहरूको विवाह महर्षि कश्यपसँग भएको थियो । दुबै दिदी बहिनीले कश्यप ऋषिको निकै राम्रोसँग सेवा गरे । श्रीमतीहरूबाट राम्रो स्याहार सुसार पाएपछि खुसी भएका कश्यपले दुबै श्रीमतीलाई वर माग्न भने । कद्रुले समान शक्ति भएका एक हजार नागलाई पुत्र रूपमा मागिन् । कश्यपले हुन्छ भनी वरदान दिए । विनतालाई इष्र्या पलाएर आयो । उनले त्यति नै शक्तिशाली दुई पुत्र मागिन् । कद्रु र विनताले गर्भधारण गरेपछि कश्यप तपस्या गर्न भनेर जङ्गलतिर गए ।

निकै लामो गर्भधारणपछि कद्रुले एक हजार छोरा पाइन् भने विनताले दुई छोरा पाइन् अरुण र गरुढ । कद्रुका एक हजार छोरा बराबर त विनताको एउटा छोरो गरुढ नै शक्तिशाली थियो । शक्तिशाली छोरा जन्माउने कद्रु र विनतामा चलेको यो एक प्रकारको होड पनि हो र यसमा नारी मनोविज्ञान पनि छ । सौतेनी सम्बन्ध तिक्ततापूर्ण हुन्छ भन्ने भाष्य हाम्रो समाजमा अझै पनि व्याप्त छ । त्यही सौतेनी सम्बन्धको होडले कद्रु र विनताले शक्तिशाली छोराहरू जन्माएका थिए ।

भर्खरै देवता र दानवको संयुक्त प्रयासबाट समुद्र मन्थन भएको थियो र त्यो मन्थनबाट उच्चैःश्रवा नामको घोडा निस्किएको थियो । त्यो घोडाको रङ्ग पुरै सेतो थियो तर त्यसैमा कद्रु र विनताले बाजी राखे । विनताले घोडाको रङ्ग सेतो थियो भनिन् भने कद्रुले घोडाका रङ्ग कालो थियो भनिन् । विनताले पहिले सेतो भनेका कारण कद्रुलाई कालो भन्नुपर्ने लाग्यो । जसरी पनि आफ्नो कुरा र तर्कले जित्नुपर्ने कद्रुको स्वभाव थियो । घोडा सेतो हुँदा हुँदै पनि कद्रुले कालो भनिन् । सर्त थियो– ‘जसले हार्छ त्यसले जित्नेको दासी भएर बस्नुपर्छ’ । अर्थात् घोडाको पुच्छर सेतो भएमा कद्रु विनताको दासी बन्नुपर्ने थियो भने कालो भएमा विनता कद्रुको दासी बन्नुपर्ने थियो ।

कद्रुले आफ्ना छोराहरूलाई बोलाएर आदेश दिइन्– ‘तिमीहरू घोडाको पुच्छरमा गएर रौँ रूपमा टाँसिएर बस र पुच्छरलाई कालो बनाओ’ । आमाको आज्ञा पाएका केही नाग उच्चैःश्रवा घोडाको पुच्छरमा साना रौँ भएर बसे । परबाट हेर्दा घोडाको पुच्छर कालो देखियो । कद्रुले बाजी जितिन् । विनता कद्रुको दासी भएर बस्नुपर्ने भयो । घोडाको पुच्छरमा रौँ बनेर झुन्डिन दिएको आदेशलाई केही नागले मानेनन् । त्यसरी आदेशलाई नमान्ने छोराहरूलाई उनले तुरुन्तै श्राप दिइन्–‘जनमेजयको सर्प यज्ञमा जलेर मरेस्’ । जुन जुन नाग उच्चैःश्रवा घोडाको पुच्छरमा गएर झुन्डिएनन् तिनका सन्तानहरू जनमेजयको सर्पयज्ञमा जलेर भष्म भए ।

कद्रु निश्चय नै एक कलङ्कित आमा हो । आफ्नो निहित स्वार्थलाई केन्द्रमा राखेर छोराहरूलाई अनुचित काम गर्न प्रेरित गर्ने आमा वास्तवमा कुमाता नै हुन्छ । त्यसमाथि आफ्ना छोराको महाविनाश कमै आमाले सहन गर्न सक्छिन् । बिना भवितव्य आफैँले सिर्जना गरेको विवादमा मुछेर सन्ततिको विनाश गर्नु त झनै अशोभनीय कार्य हो । आफ्नी सौतालाई दासी बनाएर आफू मालिक्नी बन्ने कद्रुको महत्वाकाङ्क्षाले अन्ततः सर्पहरूको महासंहार गरायो ।

घोडाको रङ्ग त सेतै थियो । कद्रु र विनताको विवाद पूरै घोडामा पनि अड्न सकेन । उनीहरूको विवाद घोडा पूरै सेतो भए पनि पुच्छर चाहिँ सेतो छ कि कालो छ भन्नेमा अल्झिएको थियो ।

कद्रुले आफ्ना छोराहरूलाई श्राप नदिएको भए जनमेजयले सर्पयज्ञ नै गर्ने थिएनन् । तर सर्पयज्ञ गर्नका लागि केवल कद्रुको श्राप भने पर्याप्त थिएन । राजा परीक्षितलाई तक्षकले टोक्नु एउटा कारण थियो भने महर्षि वेदका शिष्य उतङ्कले पनि जनमेजयलाई सर्पयज्ञ गर्न उक्साएका थिए । उतङ्कलाई सर्पले सताएको घटनाबारे महाभारतमा छुट्टै कथा छ ।

जनमेजयको सर्पसत्रमा थुप्रै ऋषिमहर्षिहरू गएका थिए । उनीहरू मध्याह्नको यज्ञविश्राममा विभिन्न वैदिक कथा भन्थे र त्यसमा विचार विमर्श गर्थे तर कृष्णद्वैपायन व्यास भने महाभारतको विचित्र कथा सुनाउने गर्दथे जो उनको आफ्नै पारिवारिक कथा थियो । महाभारतको पहिलो कथा व्यासले त्यही सर्पसत्रमा सुनाएका थिए । महाभारतका चर्चित पात्र अर्जुन र सुभद्राको छोरो अभिमन्यु थियो भने अभिमन्यु र उत्तराको छोरो परीक्षित थियो । परीक्षितको छोरोका नाम थियो जनमेजय । त्यसैले जनमेजय व्यासकै सन्तति थियो । उनीहरूको बिचमा पाँच पुस्ताको अन्तर छ । व्यासको छोरो पाण्डु थियो भने पाण्डुको (मानिएको) छोरो अर्जुन थियो । यसबाट जनमेजयको सर्पसत्रमा गएका व्यास निकै बुढा भइसकेका थिए भन्ने बुभिन्छ । उनले पाँचौँ पुस्ता भोगिसकेका थिए ।

व्यासले जनमेजयको सर्पयज्ञमा कौरव र पाण्डवको दुर्दशापूर्ण कथा नसुनाएको भए रोहहर्षण र उनका छोरा सौतीले महाभारतको कथा थाहा पाउने थिएनन् । भृगुवंशी शौनकले त थाहा पाउने कुरै भएन । जनमेजयले सर्पयज्ञ नगरेका भए पनि महाभारतको कथा व्यासमा सीमित रहन सक्दथ्यो । कद्रुले आफ्ना छोरालाई जनमेजयको सर्पसत्रमा जलेर भष्म भएस् भनेर श्राप नदिएको भए पनि जनमेजयको सर्पसत्र हुने थिएन । यसरी एउटी महत्त्वाकाङ्क्षी आमाले आफ्ना सन्तानको विनाश कसरी गराउँछिन् भन्ने राम्रो पौराणिक सन्दर्भ कद्रुको कथासँग जोडिएको छ र त्यही कद्रुको श्रापले जल्न विवश नागहरूको सामूहिक अन्त्येष्टिबाट नै महाभारत कथाको थालनी भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?