कहिले होला मन्त्रीमण्डल विस्तार ?

लोकपथ
14
Shares

आइतबार नेकपा माओवादीका अध्यक्ष प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त भएर ८ सदस्यीय मन्त्रिमण्डल बनेपनि थप मन्त्रिमण्डल विस्तारमा भने दिलाइ भएको छ । गठबन्धनभित्रका केही दलहरुले सरकारमा जाने बारेमा पार्टीबाट निर्णय गर्न बाँकी रहेकाले गठबन्धन अनिर्णित बनेको हो ।

सरकारलाई समर्थन गरेको सात दलीय गठबन्धन मध्येको एक प्रपाले बुधबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकबाट सरकारमा जाने निर्णय गरेको छ । यस्तै जसपाले यसबारे निर्णय लिन यही साता बैठक बोलाएको छ ।
सरकारलाई समर्थन गरेको नागरिक उन्मुक्ति पार्टीले भने आफ्ना नेता रेशम चौधरीको रिहाइ भएमात्रै सरकारमा सहभागी हुने बताउँदै आएको छ ।

यस्तो सन्दर्भमा हाल एमालेबाट ४, राष्ट्रिय स्वतन्त्र पार्टीबाट एक, जनमत पार्टीबाट एक र माओवादी केन्द्रबाट एक जना मन्त्री बनेका हुन् । साझेदार दलहरुको सरकारमा सहभागिताबारे स्पष्ट निर्णय आएपछि मन्त्रिपरिषद् विस्तार हुने देखिन्छ ।

माओवादी केन्द्रका अनुसार पूर्वसहमतिअनुसार पार्टीबाट नारायणकाजी श्रेष्ठलाई मन्त्री बनाइएको छ । अन्य मन्त्रीहरुको बारेमा गठबन्धन दलहरुको बैठक बसेर निर्णय भएपछि पार्टीको पनि केन्द्रीय कार्यालयको बैठक बसेर टुंगो लगाइनेछ ।

सत्ता गठबन्धनमा प्रदेशसहित अन्य प्रमुख पदहरुमा पनि सहमतिका लागि छलफल चलिरहेकाले छिट्टै भागबण्डाको टुंगो लाग्ने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?