काठमाडौं । राष्ट्रको दोस्रो वरियताको उपराष्ट्रपति पदमा दल र नेताहरुको अनिच्छा देखिन थालेको छ ।
सत्तारुढ सात दलीय गठबन्धनमा उपराष्ट्रपतिभन्दा अरु राजकीय पदमा नेताहरुको जोड देखिएको छ ।
दलहरुको भागबण्डामा सबैजसो यो पदबाट तर्किएको बैठकमा सहभागी नेताहरु नै बताउँछन् । उक्त पद शुरुमा सत्ता घटक राष्ट्रिय स्वतन्त्र पार्टीलाई लिन भनिएकामा उसले योभन्दा उपसभामुख माग गरेको छ ।
यस्तोमा सत्ता नेतृत्वकर्ता माओवादीकै भागमा उक्त पद आउने भएपछि उक्त पार्टीका तर्फबाट कसलाई पठाउने भन्ने खोजी थालिएको छ । अध्यक्ष एवं प्रधानमन्त्री प्रचण्डले पार्टीका नेता एवं उपमहासचिव हरिबोल गजुरेलले उपराष्ट्रपति पदमा जान गरेको आग्रह उनले अस्वीकार गरेका छन् ।
गजुरेलले आफूलाई उपराष्ट्रपतिलगायतका कुनैपनि सेरेमोनियल पदमा बस्न चाह नरहेको भन्दै सक्रिय भूमिका रहने पदमा मात्र काम गर्ने जवाफ फर्काएका छन् ।
तपाईले त उपराष्ट्रपति पद नै अस्वीकार गर्नुभएछ नि ? भन्ने लोकपथको प्रश्नमा नेता गजुरेलले आफूलाई निष्क्रिय बस्ने राजकीय पदभन्दा सक्रिय रहने भूमिका ठीक हुने जवाफ दिएको बताए ।
अघिल्लो पटक पनि सभामुख बनिदिन अध्यक्षले आग्रह गरे पनि आफूले अस्वीकार गरेको नेता गजुरेलले बताए । ‘अझै राजनीतिबाट विश्राम लिने नसोचेको बरु पार्टीको कुनै कार्यकारी पदमा रहेर काम गर्छु भनेको छु’ उनले भने, ‘अरु नियुक्तिहरुमा त झनै जाने कुरै छैन ।’ आफ्नो ध्येय पार्टी नै बलियो बनाउने भएको पनि उनले बताए ।
यता, राष्ट्रपतिमा नेकपा एमालेबाट सुवास नेम्वाङ, अष्टलक्ष्मी शाक्य, अमृत बोहरालगायत नेताले इच्छा देखाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया