बालुवाटारबाट बाहिरिने देउवा र भित्रिने प्रचण्डको ज्योतिष एउटै !

लोकपथ
539
Shares

काठमाडौं । राजनीतिको उच्च तहमा पुग्न जनताको आशिर्वाद नै मुख्य हुन्छ । बहुदलीय प्रतिष्पर्धी व्यवस्था अँगालेको राजनीतिमा त झन् जनताले मत दिएर जिताएनन् भने उससँग जतिसुकै क्षमता भएपनि अवसर पाउन गाह्रै हुन्छ ।

तर, नेपालमा भने सत्तामा पुग्ने नेताहरु जनतामा भन्दा भाग्यमा बढी विश्वास गर्न थालेका छन् । अरु त अरु कम्युनिष्ट भनेर जनतासँग मत लिएर आउनेहरु पनि पछिल्ला वर्षहरुमा निकै नै भाग्य जचाँउन थालेका छन् ।

नेपाली कांग्रेसमा सभापति शेरबहादुर देउवा उस्तै भाग्यवादमा विश्वास गर्ने नेतामा पर्दछन् । उनले आफूलाई ज्योतिषले सात पटक प्रधानमन्त्री बन्ने योग छ भनेर बताएको उल्लेख नै गरेका थिए । त्यही ज्योतिषको भरमा पर्दा यस पटक मुखमा आएको राजकीय सत्तासम्म गुमाउनु परेको टिप्पणी उनीमाथि भइरहेको छ ।

देउवालाई प्रधानमन्त्रीको कुर्सीबाट विस्थापन गर्दै उक्त पदमा पुगेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि यस पटक ज्योतिषी देखाएर मात्र बालुवाटार छिरेका छन् ।

त्यतिमात्र होइन यस पटक त उनले राष्ट्रिय पोशाक दौरा सुरुवालमा ठाँटिएर शपथ नै लिएका थिए । यसअघिका शपथमा सर्ट पाइन्टमा देखिने उनले तेस्रो पटक प्रधानमन्त्रीको कुर्सीमा पुग्न पोशाक नै परिवर्तन गरेका हुन् ।

उसोत, संविधान निर्माण ताका नेपाल देशकै नाम फेर्ने, राष्ट्रिय झण्डा नै अर्को बनाउनु पर्ने प्रस्ताव ल्याउने माओवादीले दौरा सुरुवाल राष्ट्रिय पोशाक हुनै नसक्ने भन्दै औपचारिक कार्यक्रमहरुबाट पनि हटाएको थियो । तर यसपटक उनै माओवादीका सुप्रिमो प्रचण्डले दौरा सुरुवालमा शपथ लिएका मात्र नभई ज्योतिषीले भनेअनुसार गृह प्रवेश गरे ।

गत १० पुसमा प्रधानमन्त्री नियुक्त भएका प्रचण्ड बुधबार साँझ ज्योतिषको परामर्शमुताविक खुमलटारबाट सरकारी निवास बालुवाटार सर्दा आफ्नो निर्णय क्षमताका कारण सम्पूर्ण राजपाठ गुमाएका देउवा त्यही दिन विहान बालुवाटारबाट धुम्बाराहीस्थित डेरामा सरेका हुन् ।

संयोगचाहिँ के छ भन्, यी दुबै नेतालाई साइत जुराइदिने ज्योतिष भने एकै जना हुन् । राजपाठ गुमाएर डेरा सर्ने देउवा र राजपाठमा हालिमुहाली गर्न आउने प्रचण्डलाई उपयुक्त समय बताउने ज्योतिष हुन्, टिकाराम घिमिरे ।

ज्योतिष घिमिरेकै साइतमा भर परेर देउवा बालुवाटारबाट निस्कँदा प्रचण्डका लागि पनि गृहप्रवेशको उत्तम साइत उनैले हेरिदिएका हुन् । दुबै नेताका लागि आफूले प्रधानमन्त्री निवास बालुवाटारमै बसेर साइत हेरिदिएको ज्योतिष घिमिरेले लोकपथलाई बताए

सत्ता गुमाउने र सत्तामा उक्लनेलाई एकै ज्योतिषले साइत हेरिदिनुभएछ नि त रु भन्ने प्रश्नमा घिमिरेले, ‘आफ्नो काम नै राम्रो साइत निकालिदिने हो । विश्वास गर्ने नगर्ने त उहाँहरुको निर्णय हो,’ भने ।

एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री भएदेखि नै आफूले प्रधानमन्त्रीहरुका लागि साइत निकालिदिने गरेको भन्दै घिमिरेले देउवालाई त घरपूजा गराउनेदेखि प्रवेश गराउने कामै आफूले गराएको बताए ।

प्रवेश गर्नेले त लामो समय सत्तामा टिकिरहन पाउँ भनेर साइत हेर्ने होला, बाहिरिनेले चाहिँ किन साइत खोज्नु परेको नि रु भन्ने हाम्रो प्रश्नमा ज्योतिष घिमिरेले ‘बाहिर रहँदा पनि आपत् विपत् नपरोस्, फेरि चाँडै नै यस निवासमा फर्कन पाइयोस् भन्ने चाहना हुन सक्छ नि’ भने ।

आफूहरुले काल, बेला, बार सबै हेरेर साइत निकालिदिने गरेको भन्दै उनले आफू कुनै व्यक्ति विशेषको मात्र ज्योतिष नभएकाले आग्रह अनुसार सबैको हेरिदिने बताए । ‘देउवा, प्रचण्ड, ओली वा तपाईंको नै आग्रह गर्दा मैले त हेरिदिनै पर्दछ,’ उनको भनाइ थियो ।

प्रचण्डका लागि बुधबार साँझ ५ बजेका लागि साइत जुराइदिएका घिमिरेले भने–‘देउवाको साइत मैले हेरेको हुँ । मैले निकालिदिएको साइतमा उहाँ बालुवाटारबाट सर्नुभएको हो ।’

यस पटक साइत जुराएर बालुवाटार छिरेका प्रचण्ड यसअघि, दशा काट्नकै लागि भन्दै कालो भैसी पूजा गरेकामा आलोच्य बनेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?