ओली र प्रचण्डले बाँडे मुख्यमन्त्री, एमालेले चार पाउँदा माओवादीलाई दुई

लोकपथ
377
Shares

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले) का अध्यक्ष केपी ओलीबीच प्रदेशको मुख्यमन्त्री भागबण्डामा सहमति बनेको छ । बुधबार दुई नेताबीच भएको लामो छलफलका क्रममा मुख्यमन्त्रीसहितका राजकीय पदका बारेमा सहमति बनेको हो ।

सात वटा प्रदेशको मुख्यमन्त्रीमा चार वटा एमालेले लिने तथा दुई वटा माओवादी केन्द्रले लिने सहमति बनेको खुमलटारनिकट स्रोतले जनाएको छ । बुधबार बिहान एमाले अध्यक्ष ओली लामो समयको तिक्तता तोड्दै प्रधानमन्त्री प्रचण्डलाई भेट्न प्रचण्ड निवास निवास खुमलटार पुगेका थिए ।

जसअनुसार एमालेले प्रदेश १, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको मुख्यमन्त्री पाउने छ भने माओवादी केन्द्रले बागमती र सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री लिनेछ । मधेश प्रदेशमा भने सरकारलाई समर्थन गरेका जनता समाजवादी पार्टी र जनमत पार्टीलाई आधा आधा कार्यकाल हुने गरी बाँडिने छ ।

मन्त्रालय बाँडफाँटमा भने अन्तिम टुग्गो लाग्न बाँकी रहेको बताइएको छ । यद्यपि, एमालेले दश मन्त्रालयमा आफ्नो दाबी राखेको छ । एमाले अध्यक्ष केपी ओली ४ पुस २०७७ पछि पहिलोपटक प्रचण्ड निवास खुमलटार पुगेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?