बागमती प्रदेश : कांग्रेस संसदीय दलको निर्वाचनमा मनोनयन दर्ता, लामा र बानियाँ प्रतिष्पर्धामा

लोकपथ
611
Shares

काठमाडौं । नेपाली कांग्रेस बागमती प्रदेश सभा संसदीय दलको निर्वाचनका लागि मनोनयन दर्ता भएको छ ।
प्रदेशको राजधानी हेटौँडामा नेपाली कांग्रेस प्रदेश संसदीय दलको कार्यालयमा मनोनयन दर्ता भएको हो ।

संसदीय दलको निर्वाचनका लागि बहादुर सिंह लामा र इन्द्र बानियाँ चुनावी प्रतिष्पर्धामा रहेका छन् ।

लामाको प्रस्तावकमा प्रदेश सभा सदस्य कुन्दनराज काफ्ले र समर्थकमा उर्मिला नेपाल, तीर्थबहादुर लामा, रमेश कुमार महत र रामकृष्ण चित्रकार रहेका छन् ।

यता बानियाँको प्रस्तावकमा छिरिङ दोर्जे लामा र समर्थकमा प्रभात तामाङ रहेका छन् ।

लामा नेपाली कांग्रेसको केन्द्रीय सदस्य समेत रहेका छन् । यता बानियाँ नेपाली कांग्रेस बागमती प्रदेशको सभापति रहेका छन् ।

दुवै नेता केन्द्रमा संस्थापन पक्षका हुन्। सर्वसम्मत दलको नेता चयनका लागि प्रयास भए पनि दुवै नेताले आ–आफ्नो अडान नछाडेपछि निर्वाचन भएको हो । लामालाई संस्थापन इतर समूहको समेत समर्थन रहेको छ ।

दलको नेताको उम्मेदवारहरुले ४५ हजार दर्ता शुल्क लाग्नेछ ।

दलको नेता चयनका लागि आजै दिउँसो २ बजेबाट ३ बजेसम्म निर्वाचनको मिति तोकिएको छ ।

११० सदस्यीय बागमती प्रदेशमा गएको निर्वाचनमा नेपाली कांग्रेसले प्रत्यक्षमा २५ र समानुपातिकमा १२ सहित ३७ सिट ल्याएको छ ।

यो पनि

बाग्मतीमा बहादुर कि बानियाँ ? : निर्णायक कोइराला पक्ष

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?