राजा महेन्द्र, वीरेन्द्र र बीपी बेजोडका नेता हुन्, अरुबाट अपेक्षा छैन : पशुपतिशमशेर जबरा (अन्तर्वार्ता)

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वअध्यक्ष पशुपतिशमशेर जबराले नेपालको राजनीतिमा राजा महेन्द्र, राजा वीरेन्द्र र बीपी कोइराला अद्भूत क्षमताका नेता भएको बताएका छन् ।

वर्तमान प्रतिनिधि सभामा ज्येष्ठसदस्यको हैसियतले सांसदहरुलाई शपथ खुवाएका राणाले यो अनौठो संयोग आफूले ब्यहोर्नुपरेको पनि बताए । आफूले अपेक्षा नै नगरेको जिम्मेवारी निर्वाह गर्नुपरेको उनको भनाइ थियो ।

लोकपथ टिभीको कार्यक्रम कर्माणिका लागि आफ्नो ५० वर्षे राजनीतिको आरोह अवरोह केलाउँदै राणाले, राष्ट्रनिर्माता पृथ्वीनारायण शाहपछि मुलुकमा राजा महेन्द्र, राजा वीरेन्द्र र बीपी कोइराला मात्रै क्षमतावान नेताका रुपमा आफूले देखेको बताएका हुन् ।

राजा महेन्द्रले आफूलाई नरुचाएको भन्दै उनले राजा वीरेन्द्रसँग भने ‘कामको गजबको लय मिलेको’ बताए । महेन्द्रको निधनपछि मात्र राजनीतिमा आएको भन्दै उनले राजा वीरेन्द्रलाई ‘असल राजा’को संज्ञा दिए । तर, वीरेन्द्रले आफ्नै निर्णयले काम गर्न भने नपाएको उनको अनुभव छ ।

राजा वीरेन्द्र र बीपी कोइराला मिलेको भए नेपालको विकास कहाँबाट कहाँ पुग्थ्यो भन्दै राणाले यी दुईलाई मिल्न नदिन पञ्चायतभित्रका अनुदारवादीहरु सक्रिय भएको पनि बताए । २०१७ सालमा बीपीको शासन जानुमा विदेशीभन्दा पनि राजा महेन्द्र नै कारक रहेको भन्दै उनले भने–‘बीपी चीनसँग अलिबढी झुकेको आरोपचाहिँ भारतीय प्रधानमन्त्री नेहरुको थियो ।’

नेपालप्रति नेहरुको भाव सकारात्मक नै भए पनि भारतका तत्कालीन गृहमन्त्री सरदार बल्लभभाई पटेल भने नेपाललाई कब्जा गर्नुपर्ने पक्षमा रहेको राणाले बताए । बहुदलीय व्यवस्था पुनर्स्थापनापछिको गिरिजाप्रसाद कोइराला, मनमोहन अधिकारी र शेरबहादुर देउवाको पहिलो कार्यकालमा नेपालमा निकै राम्रो काम भएको दाबी गर्दै उनले त्यसयता भ्रष्टाचार र बेथितिले मुलुक चुर्लुम्मै डुबेको बताए ।

वर्तमानमा आफूले नेता जस्तो कोही नदेखेको भन्दै उनले कर्मचारी प्रशासन पनि निकम्मा बनेको बताए । पञ्चायतमा एकसे एक योग्य प्रशासक रहेकैले नेपालको शान र शीर उँचो रहेको राणाको भनाइ थियो ।

हेर्नुहोस् भिडियो : 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?