काठमाडौं । एमाले अध्यक्ष केपी ओलीको प्रतिगमनदेखि आमनिर्वाचनसम्म सत्ता सारथी बनेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले साथ छोडेपछि एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल भने एक्लिएका छन् । उसो त उनले मंगलबार पार्टीका नेताहरुसँगको भेटघाटका क्रममा प्रचण्डले आफूलाई पत्तै नदिइ प्रधानमन्त्री बनेकोमा दुखेसो समेत व्यक्त गरे ।
यद्यपि, राजनीतिमा कोही पनि स्थायी शत्रु र स्थायी मित्र हुन्न भन्ने कुराको परिणाम प्रचण्ड प्रधानमन्त्री भएसँगै पुष्टि भएको छ । प्रचण्ड एमालेसहितको सात राजनीतिक दलको समर्थनमा आइतबार प्रधानमन्त्रीमा नियुक्त भएका हुन् ।
त्यसैले एमाले तथा माओवादीका नेताहरु यतिबेला एकीकृत समाजवादीलाई समेत सत्तामा सामेल गराउने कसरतमा जुटेका छन् ।
मंगलबार साँझ उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले एकीकृत समाजवादीका अध्यक्ष नेपालसँग भेट्दै सरकारमा सहभागि हुन आग्रह गरे । भेटमा पौडेलले यसअघिका कुरा बिर्सिएर नयाँ शिराबाट अघि बढ्न आग्रह गरेको एकीकृत समाजवादीका एक नेताले बताए ।
समाजवादीका नेता सोमप्रसाद पाण्डेको निवासमा भएको भेटवार्ताका क्रममा पौडेलको कुरामा नेपालले भने कुनै प्रतिक्रिया नजनाएको ती नेताले बताए ।
भेटघाटमा सरकारमा सहभागि हुनेदेखि पार्टी एकतासम्मका विषयमा छलफल भएको थियो । पौडेलको भनाइ उदृत गर्र्दै ती नेताले भने, ‘अहिले सरकारमा सहभागि हुनुस् त्यसपछि पार्टी एकताका लागि ढोका पनि खुल्छ ।’
आजै दिउँसो वामपन्थी एकताको पहल गरिरहेका वामदेव गौतमले अध्यक्ष नेपाललाई भेटेर प्रचण्ड नेतृत्वको सरकारमा सहभागी हुन आग्रह गरेका थिए ।
उसो यतिबेला अध्यक्ष नेपाल दोधारमा छन् । उनी भने स्पष्ट गन्तव्यबिना अघि बढ्न नुहने मनस्थितिमा छन् । त्यसैले नेपाल सरकारमा जान्छन् वा जाँदैनन् भन्ने कुरा पर्ख र हेरकै अवस्थामा छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया