भारत घुम्न गएका दुई रुसी राजनीतिज्ञको एक साताभित्रै मृत्यु, थिए पुटिनका आलोचक

लोकपथ
195
Shares

काठमाडौं । भारतको ओडिशाको रायगढबाट एउटा सनसनीपूर्ण खबर बाहिर आएको छ । भारत घुम्न गएका दुई रुसी पर्यटकको एक साताभित्रै मृत्यु भएको छ ।

रुसका सबैभन्दा धेरै कमाउने राजनीतिज्ञ पावेल एन्टोनोभको शनिबार ओडिशाको एउटा होटलमा कोठाको झ्यालबाट खसेर मृत्यु भएको बताइएको छ । यसभन्दा दुई दिनअघि पनि भारतमा पार्टीका क्रममा हृदयघातका कारण उनका एक साथीको मृत्यु भएको थियो ।

यसमा अचम्मको कुरा के छ भने पावेल एन्टोनोभ रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको समर्थक पार्टीसँग जोडिएका छन् । तर, युक्रेनसँग युद्ध शुरु भएपछि उनले पटकपटक पुटिनको आलोचना गरेका थिए । एन्टोनोभ रूसको भ्लादिमिर क्षेत्रका सांसद थिए र २०१९ मा रूसको सबैभन्दा धेरै कमाउने राजनीतिज्ञ थिए। उनी आफ्नो ६५ औं जन्मदिन मनाउन भारत पुगेका थिए ।

स्थानीय प्रहरीका अनुसार होटलको तेस्रो तल्लाबाट खसेर एन्टोनोभको मृत्यु भएको हो । प्रहरी अधिकारीले ६५ वर्षीय पावेल एन्टोनोभ शनिबार होटलबाहिर रगतले लतपतिएको अवस्थामा भेटिएको बताए । र उनका सहयात्री भ्लादिमिर बिदेनोभ २२ डिसेम्बरमा सोही होटलमा मृत फेला परेका थिए।

उनी होटलको पहिलो तल्लामा रहेको कोठामा अचेत अवस्थामा पल्टिएका थिए र उनीसँग केही खाली रक्सीका बोतलहरू थिए। जिल्ला अस्पताल ल्याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए ।

साथीको मृत्युले डिप्रेसनमा थिए पावेल 

भ्लादिमिर र पावेल चार सदस्यीय रुसी पर्यटक समूहका सदस्य थिए, जसले आफ्ना गाइड जितेन्द्र सिंहसँग बुधबार रायगड सहरको एउटा होटलमा चेकइन गरेका थिए। पावेलको मृत्युबारे एक वरिष्ठ प्रहरी अधिकारीले यो आत्महत्याको घटना भएको बताए । साथीको मृत्युका कारण पावेल डिप्रेसनमा रहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?