प्रधानमन्त्री प्रचण्डले उद्योगीहरुसँग भने “निजी क्षेत्रबाट सुझावको अपेक्षा गरेको थिएँ”

लोकपथ
28
Shares

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड” सँग नेपाल उद्योग परिसंघले भेटवार्ता गरेको छ । अध्यक्ष विष्णुकुमार अग्रवाल नेतृत्वको परिसंघ प्रतिनिधिमण्डलले आज मंगलवार बिहान प्रधानमन्त्रीको निजी निवास खुमलटारमा भेटवार्ता गरेको हो । सो अवसरमा परिसंघका अध्यक्ष अग्रवालले निजी क्षेत्रको तर्फबाट बधाई एवम् शुभकामना दिँदै चुनौतीपूर्ण अवस्थामा रहेको मुलुकको अर्थतन्त्रको सुधार नयाँ सरकारको पहिलो प्राथमिकता हुनुपर्ने सुझाव दिए ।

परिसंघले संकटपूर्ण अवस्थामा रहेको मुलुकको अर्थतन्त्रलाई पुनः गति प्रदान गर्न तत्काल चालिनुपर्ने स्पष्ट कदमसहितको रिबोटिङ नेप्लिज इकोनोमी अवधारणा प्रधानमन्त्री समक्ष पेश गरेको हो । परिसंघले नेपाली अर्थतन्त्रलाई पुनः गति प्रदान गर्न वित्तीय क्षेत्र (तरलता संकट तथा उच्च ब्याजदर), औद्योगिक प्रर्वधन, पूर्वाधार, पर्यटन, ऊर्जा र सूचना प्रविधि क्षेत्रलाई प्राथमिकतामा राख्दै तत्काल गर्न सकिने उपायसमेत सुझाएको छ । परिसंघको यो सुझावलाई सरकारले उच्च प्राथमिकतामा राख्दै कार्यान्वयनमा लैजाने विश्वास अध्यक्ष अग्रवालले गरे ।

परिसंघको बधाई एवम् अर्थतन्त्र सुधारका सुझाव ग्रहण गर्दे प्रधानमन्त्री प्रचण्डले अर्थतन्त्र सुधारका लागि निजी क्षेत्रबाट यस्तै खालको सुझाव खोजेको बताए । “मैले निजी क्षेत्रबाट यस्तै अपेक्षा गरेको थिए । परिसंघले स्पष्ट रुपमा सुधारका योजना दिएको छ, यसका लागि परिसंघलाई धन्यवाद” उनले भने । प्रधानमन्त्री प्रचण्डले सरकारको मुख्य ध्यान अर्थतन्त्र सुधार्नमै रहेको र यसका लागि परिसंघसँग सरकारले सहकार्य गर्ने बताए । “मन्त्रिपरिषद्को पहिलो बैठकबाटै हामीले अर्थतन्त्रलाई नै प्राथमिकतामा राखेका छौँ । निजी क्षेत्रसँग सहकार्य गर्दै अगाडि बढ्नेछौं” उनले भने ।

नवनियुक्त प्रधानमन्त्री प्रचण्डलाई परिसंघका पुर्व अध्यक्ष हरिभक्त शर्मा, उपाध्यक्षहरु निर्वाण चौधरी, कृष्णप्रसाद अधिकारी, विरेन्द्रराज पाण्डे, रोहित गुप्ता, परिसंघ उद्योग समिति सभापति गोकुल भण्डारी, परिसंघका महानिर्देशक दिपकराज जोशीले पनि बधाई तथा शुभकामना दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?