काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवालाई सरकारी निवास छाड्न केही दिन लाग्ने भएको छ । उनी प्रधानमन्त्री निवास बालुवाटारमा बसेका छन् । आकस्मिक रुपमा सत्ता गठबन्धन छुटेसँगै प्रतिपक्षमा पुगेका देउवा प्रधानमन्त्री पद गुमाउँदै सरकारी निवास बालुवाटार छाड्नुपर्ने अवस्थामा पुगेका हुन् ।
बूढानीलकण्ठस्थित देउवा निवास मर्मत कार्य चलिरहेकाले त्यहाँ बस्न सक्ने अवस्था नभएको बताईएको छ । उक्त घर मर्मत गर्न करिब ४ महिना लाग्ने देखिएको छ । देउवाका प्रेस सल्लाहकार गोविन्द परियारले भाडाको घर खोज्ने कार्य जारी रहेको र भेटिएलगत्तै सरकार निवास छाड्ने जानकारी दिए ।
‘बूढानीलकण्ठको घरमा अहिले रिनोभेसनको काम भइरहेको छ । नयाँ घर खोज्ने काम भइरहेको छ । एक दुई वटा घरहरु हेरिएको छ । आज फाइनल गर्न सकियो भने बल्ल कहिले सर्ने भन्न सकिन्छ’, परियारले भने, ‘समयमा सर्नका लागि घर नपाउँदा बालुवाटार छाड्न ढिलो हुने देखियो ।’ मर्मत कार्य सम्पन्न हुनका लागि ४ महिनाजति लाग्ने देखिएको भन्दै उनले सो अवधिमा देउवा भाडाको घरमा बस्ने जानकारी दिए । ‘भनेजस्तो घर भेटिएको छैन । पार्किङदेखि सेक्युरिटीसम्म बस्ने सबै चाहियो’, उनले भने, ‘आज घर कम्फर्म गर्न सकियो भने एक दुई दिनमा सर्न सकिन्छ कि भन्ने हो ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया