एन्फा : जसले एउटा लिगसमेत आयोजना गर्न सक्दैन

अखिल नेपाल फुटबल संघ (एन्फा)ले ए डिभिजन लिग सञ्चालन गर्ने घोषणा गरेको दिन नजिक आइसकेको छ । लिग सञ्चालनको दिन मुखैमा आइपुग्दा पनि न एन्फा तयार देखिन्छ, न त क्लबहरु नै । पुस २६ गतेबाट लिग संचालनमा ल्याउने एन्फाको तयारी थियो तर पुस १२ हुँदासम्म पनि लिग हुने नहुने अन्योल कायमै छ ।

एन्फा र क्लबहरुबीच बढ्दो तिक्तताका कारण पनि आसन्न ए डिभिजन लिग सञ्चालन हुनेमा विभिन्न आशंका उत्पन्न भैरहेका छन् । लिग खेल्नका लागि तयारी खर्च नपाएपछि लिग खेल्न नसकिने ए डिभिजन क्लबको धारणासँगै लिग अन्यौलमा छ ।

देशमा आयोजना हुने एउटा लिगमा पनि यस्ता विभिन्न समस्याका कारण अन्योल उत्पन्न भएपछि नेपाली राष्ट्रिय फुटबल टिमका अन्जन विष्टले त गत शुक्रबार मुख फोरेरै आलोचना गरे । उनले सामाजिक सञ्जाल मार्फत निकै तिक्तता र आक्रोश व्यक्त गरेका हुन् । फुटबललाई नै जीवन मानेर हिँडेका खेलाडी फुटबल खेल्नबाट बञ्चित भएको बताउँदै अन्जनले यसरी देशको फुटबल कहाँ पुग्छ ? भन्दै एन्फालाई प्रश्न गरेका छन् । साथै, एक–अर्कालाई दोष लगाएर कहिलेसम्म लिग सार्नुहुन्छ ? भन्दै उनले आक्रोश व्यक्त गरेका थिए । फरवार्ड विष्टले फुटबलको मेरुदण्डका रुपमा रहेका क्लब र एन्फालाई सहमति बनाएर लिग आयोजनामा जुट्न अनुरोध गरेका थिए ।

के भन्छ एन्फा ?

निर्धारित समयमै लिग गर्ने पक्षमा एन्फा रहेको छ । हाल क्लब र एन्फाबीच लिग कसरी आयोजना गर्ने भन्ने विषयमा छलफल भइरहेको एन्फाका प्रवक्ता सुरेस शाह बताउँछन् । ‘लिगको आयोजना एक सय प्रतिशत हुन्छ । लिग नहुने भन्नेमा कुनै शंका छैन । क्लबहरुसँगको छलफलबाट यो अन्योलता टुंग्याउछौं ।’ प्रवक्ता शाहले भने ।

क्लब र एन्फाको मसला के हो ?

लिग तोकिएकै मितिमा संचालन गर्नका लागि पहिलो रुकावट हो विदेशी खेलाडी नेपाली क्लबमा भित्राउनु । क्लबहरुले लिग खेल्नका लागि विश्वका विभिन्न देशका खेलाडीलाई क्लबमा आवद्ध गराउन समय लाग्ने बताएका छन् । जसका कारण पनि पुस २६ बाट लिग आयोजना गर्न समस्या देखिएको हो । त्यसोत एन्फाले सल्लाह नै नगरी लिगको मिति तोकेकामा पनि क्लबहरुले आक्रोश व्यक्त गरेका छन् ।

‘क्लबहरुले विदेशी खेलाडी ल्याउने भन्दै समय सार्न आग्रह गरिरहनु भएको छ । एन्फाले मिति तोकिसकेको छ । उहाँहरुले खेलाडीका लागि सबै प्रक्रिया मिलाएर व्यवस्थापन गराउन कम्तिमा पनि ४० दिनको समय माग्नु भएको छ । अब बस्ने बैठकबाट हामी कसरी अगाडी बढ्ने भन्नेमा सहमति जुट्छ ।’ एन्फाका प्रवक्ताले भने ।

त्यस्तै, दोस्रो र मुख्य समस्या हो आर्थिक । एन्फाले लिगको तयारी खर्च बापत क्लबलाई साढे ३२ लाख रुपैयाँ दिने निर्णय गरेको थियो । तयारी वापतको ५० प्रतिशत रकम मंसिर १५ गतेभित्र उपलब्ध गराउने भन्दै एन्फा र क्लबबीच सहमति भएको थियो । तर तोकिएको समयमा तयारी खर्च उपलब्ध गराउन एन्फाले कुनै गृहकार्य नगरेपछि क्लबहरुले विज्ञप्ति निकालेर एन्फाको ध्यानाकर्षण गराएका थिए ।

तर एन्फा प्रवक्ताले भने, ‘ उहाँहरुले आवश्यक कागजात नपुर्याएका कारण नै भुक्तानी रोकिएको हो । नत्र एन्फाले पैसा रोक्ने भन्ने हुँदैन ।’

बिहीबार बैठक बस्दै

एन्फाले लिग संचालनका लागि र क्लबहरुसँग बसेर सहमति जुटाउन पौष १४ गते बैठक राखेका छन् । बैठकमा क्लबका प्रतिनिधि र एन्फाका पदाधिकारीहरु रहने छन् ।

डबल राउण्ड रोबिन फ्म्याट

एन्फाले यस पटकको लिग डबल राउण्ड रोबिनमा सञ्चालन गर्ने निर्णय गरेको छ । डबल राउण्ड रोबिनमा लिग संचालन गर्दा बढी खर्च हुने भएकाले क्लबको तयारी खर्च समेत बढाएर साढे ३२ लाख पुर्याईएको थियो । क्लबको खर्च घटाउन सिंगल राउण्ड रोबिनमै भएपनि लिग गर्ने गरी एन्फाले पछिल्लो समय आन्तरिक छलफललाई अघि बढाएको छ ।

घरेलु लिगमा अन्यौलता खेलाडी भटाभट विदेश पलायन

हुने फोहोनेपाली खेलकुद जगतका मूख्य समस्याहरुको चाङमध्ये सबैभन्दा जटिल समस्या हो खेलाडीहरु विदेशिनु । राजनीतिक अस्थिरता र खेलकुद क्षेत्रमा री राजनीतिबाट आजित भएर पनि धेरै खेलाडी विदेशीने गरेका छन् ।

हरेक राष्ट्रले खेलकुदलाई आफ्नो प्रतिष्ठाको रुपमा अँगाल्दै गर्दा नेपालले भने त्यसको लाभ उठाउन सकेको छैन । मुख्यतः, खेलकुद क्षेत्रमा हुने राजनीतिको हालीमुहालीले खेलाडीको भविष्य अन्योल हुँदा उनीहरु पलायनको बाटो रोजिरहेका छन् । तैपनि, राज्यले खेलाडी पलायन रोक्न कुनै नीति ल्याउनसकेको छैन । यसले वर्तमान पुस्तालाई असर त गरेको छँदैछ, सँगै खेलकुद क्षेत्रको पनि भविष्य धराप बन्दै गएको छ ।

यसै वर्षमात्रै राष्ट्रिय फुटबल टिमका सदस्य सन्तोष तामाङ, दर्शन गुरुङ आशिष लामा र सुमन लामा अस्ट्रेलिया गएका छन् । यो बाहेक पनि धेरै राष्ट्रिय खेलाडी नेपालको खेल क्षेत्रमा आफ्नो भविष्य नदेखेर विदेश पलायन भइरहेको घटना छन् । नेपाली फुटबलका विमल राना, हेमन्त थापामगर, नेपाली राष्ट्रिय क्रिकेटका वसन्त रेग्मी, पृथु बास्कोटा, नरेश बुुढाऐर, राष्ट्रिय भलिबलकी रमिला तण्डुकार लगायत विभिन्न एकल विधाका खेलाडीहरु विदेश पलायन भइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?