काठमाडौं । नेपालको ४४ औँ प्रधानमन्त्रीका रुपमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नियुक्त भएसँगै सरकार गठनका रस्साकस्सी सुरु भएको छ । ७ दल र तीन जना स्वतन्त्रसहित १६९ सांसदको समर्थनमा प्रधानमन्त्री नियुक्त भएका प्रचण्डले आज पद तथा गोपनियताको शपथग्रहण गर्दैछन् । हिजो (आइतवार) बालकोटमा भएको सहमति अनुसार एमाले र माओवादी केन्द्रबीच प्रधानमन्त्रीसहित मुख्य तीन पदमा सहमति भएको छ । माओवादीबाट अध्यक्ष प्रचण्ड प्रधानमन्त्री बने भने राष्ट्रपति र सभामुख एमालेबाट हुने सहमति भएको छ । प्रधानमन्त्री नियुक्तिसँगै अब सबैको ध्यान मन्त्रालयको भागबण्डामा केन्द्रीत भएको छ ।
संविधानको धारा ७६ को उपधारा ९ अनुसार राष्ट्रपतिले प्रधानमन्त्रीको सिफारिसमा संघीय संसदका सदस्य मध्येबाट समावेशी सिद्धान्त बमोजिम बढीमा पच्चीस जना मन्त्री रहेको मन्त्रीपरिषद् गठन गर्नु पर्ने संवैधानिक व्यवस्था रहेको छ । सोही अंकगणितका आधारमा सात दल र तीन स्वतन्त्र सांसदहरु यतिबेला मन्त्रालयको भागबण्डा मिलाउन व्यस्त छन् ।
कुन मन्त्रालयमा कसको दाबी ?
एमालेबाट सरकारमा पठाउने मन्त्रीहरुबारे छलफल गर्न अध्यक्ष ओलीले नेताहरुलाई बालकोट बोलाएर छलफल गरिरहेका छन् । हिजोराति अध्यक्ष ओलीले उपाध्यक्ष सुवास नेम्वाङ र विष्णु पौडेलसँग करिव ५ घण्टा छलफल गरेका थिए । त्यसक्रममा एमालेबाट सरकारमा जाने करिव ६ जनाको नाम तयार भए पनि त्यसमा अध्यक्ष ओलीले अन्तिम निर्णय गर्ने भन्दै नेताहरु बालकोटबाट राति १ बजे हिँडेका थिए । उपाध्यक्ष विष्णु पौडेलको नेतृत्वमा एमाले सरकारमा जाने सम्भावना रहेको छ । पौडेललाई अर्थमन्त्रालयसहित उपप्रधानमन्त्री बनाउने बुझिएको छ । माओवादी केन्द्रबाट भने वर्षमान पुन अर्थमन्त्रीका दाबेदार रहेका छन् । यदि वर्षमान पुनले अर्थमन्त्री नभए उनी माओवादीबाट गृहमन्त्री बन्ने सम्भावना प्रबल छ ।
यता २० सिट सहितको राष्ट्रिय स्वतन्त्र पार्टीले पनि गृह मन्त्रालयको माग गरेको स्रोतले बताएको छ । जसले गर्दा गृहमन्त्री को बन्छ भनेर यकिन गर्न सक्ने अवस्था भने रहेको छैन । स्रोतका अनुसार रविलाई उप–प्रधानमन्त्री बनाउने विषयमा ओली–प्रचण्ड सकारात्मक छन् । उनले पाउने मन्त्रालयको भने टुंगो भएको छैन । रक्षा, परराष्ट्र र अर्थ मन्त्रालयमा रास्वपाको रुचि नभएको स्रोतको भनाइ छ । गृह मन्त्रालय लिन सकिने सम्भावनाबारे छलफल भइरहेको बताइएको छ । त्यो नपाएको खण्डमा शिक्षा, स्वास्थ्य, श्रम, वार्णिज्य–आपूर्ति, श्रम, यातायातजस्ता जनतासँग प्रत्यक्ष जोडिने मन्त्रालयहरुमा रास्वपाले दावी गर्ने भएको छ । तर, रास्वपाका प्रवक्ता मुकुल ढकालले यस बारेमा निर्णय गर्न सोमबार दिउँसो बैठक बस्ने लोकपथलाई जानकारी दिए । ‘हामीले सरकार गठनकै विषयमा केन्द्रीत रहेर छलफल गर्नका लागि आज दिउँसो पार्टी बैठक बोलाएको छौँ,’ उनले भने, ‘त्यही बैठकले नै कुन कुन मन्त्रालय दाबी गर्ने भन्ने निक्र्यौल गर्छ ।’
यता सत्ताको नेतृत्व गर्ने माओवादी केन्द्रबाट भने उपाध्यक्ष नारायणकाजी श्रेष्ठ उपप्रधानमन्त्री बन्ने पक्का भएका छन् । उनलाई कुन मन्त्रालय दिने भन्ने बारे भने टुंगो नलागेको माओवादी नेता हरिबोल गजुरेलले लोकपथलाई जानकारी दिए । मन्त्री बाँडफाँड टुंगो लगाउनका लागि माओवादी केन्द्रले पनि आज दिउँसो पदाधिकारीको बैठक बस्न लागेको महासचिव देव गुरुङले जानकारी दिए । ‘मन्त्रालयको विषयमा छलफल गर्न पदाधिकारीको बैठक बोलाएका छाैँ पार्टीमा निणर्य भएर मात्रै अगाडि बढ्छौं,’ उनले भने, ‘मुख्य मन्त्रालयमा हाम्रो दाबी स्वभाविक छ । बाँकी पार्टीले नै निर्णय गर्छ ।’
त्यस्तै, सिके राउत नेतृत्वको जनमत पार्टीले भने कृषि तथा पशुपन्छि विकास र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय माग गरेको जनमत पार्टीका काठमाडौं उपत्यका इन्चार्ज हरेन्द्र चौधरीले लोकपथलाई जानकारी दिए । ‘हामीले पहिले पनि प्रस्ताव राख्दा दुई मन्त्रालय माग गरेका थियौँ र अहिले पनि त्यहि प्रस्ताव राखेका छौं,’ उनले भने, ‘कृषि र उद्योग मन्त्रालयमा नेतृत्व गर्ने हाम्रो चाहना हो ।’ सूचना सञ्चार तथा प्रविधि मन्त्रालय र उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय पनि एमालेको भागमा पर्ने देखिन्छ । त्यसो हुँदा पूर्वसञ्चार मन्त्री समेत रहेका एमालेका नेता गोकुल बास्कोटाले सञ्चार र टोपबहादुर रायामाझीको भागमा उर्जा मन्त्रालय पर्ने अनुमान गरिएको छ ।
जसपाले पनि उपप्रधानसहित दुईवटा मन्त्रालय दाबी गर्ने बुझिएको छ । राप्रपाले भने सरकारमा सहभागि हुने वा नहुनेमा कुनै निर्णय नभएको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले लोकपथलाई बताए । ‘हामीले सरकार गठनका लागि समर्थन गरेका हौँ तर सरकारमा भाग लिने वा नलिने अझै टुङ्गो लागेको छैन्,’ उनले भने, ‘अब पार्टीको पदाधिकारी बैठक बसेर मात्र सरकारमा भाग लिने वा नलिने भन्ने विषयमा टुङ्गो लाग्नेछ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया